काठमाण्डौ । मुलुकको विदेशी मुद्रा सञ्चिति इतिहासकै सर्वोच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार देशको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको हो। यो सञ्चिति रकम हालसम्मकै उच्च हो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै यस्तो सञ्चितिमा ४०.३ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबर मात्र रहेकोमा रेमिट्यान्सको निरन्तर बलियो प्रवाह र आन्तरिक आयातमा आएको सुस्तीका कारण डलरको सञ्चितिमा भारी वृद्धि भएको हो।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विदेशी मुद्रा सञ्चिति २६.५ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ। यसअनुसार जेठ मसान्तसम्म मुलुकसँग कुल २४ अर्ब ६८ करोड अमेरिकी डलर बराबरको सञ्चिति कायम भएको छ। कुल सञ्चिति रकममध्ये नेपाल राष्ट्र बैंकमा मात्रै ३३ खर्ब ३० अर्ब रुपैयाँ र बाँकी ४ खर्ब २५ अर्ब रुपैयाँ वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको छ। यसैगरी कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा (भारु) को अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भण्डार सुदृढ भएसँगै मुलुकको बाह्य क्षेत्र भुक्तानी सन्तुलनको क्षमता निकै बलियो स्थितिमा पुगेको छ। राष्ट्र बैंकका अनुसार हाल भइरहेको आयातको प्रवृत्तिको आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको कुल सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चितिलाई सुरक्षित मानिने गरेकोमा नेपालको वर्तमान उपलब्धता त्योभन्दा झन्डै तेब्बर बढी हुनुले वित्तीय स्थायित्वलाई ठूलो राहत दिएको छ।
बाह्य क्षेत्र यसरी ऐतिहासिक रूपमा सुरक्षित बने पनि पर्याप्त विदेशी मुद्रा सञ्चितिलाई नेपालभित्रै पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न नसकिएको अर्थ-विज्ञहरू बताउँछन्। आन्तरिक बजारमा आर्थिक गतिविधि सुस्त हुँदा र उद्योगहरूले कच्चा पदार्थ एवं मेसिनरी आयात नगर्दा विदेशी मुद्रा बाहिरिन नपाएर सञ्चिति थप बढेको उनीहरूको विश्लेषण छ। यो सञ्चितिलाई उपयोग गर्दै शिथिल बनेको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन र ठूला पूर्वाधार आयोजनामा लगानी बढाउन अब सरकार र केन्द्रीय बैंकले लचिलो नीति लिनुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।
अर्थ चाैतारी ।