काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको वित्तीय अवस्था इतिहासकै बलियो मोडमा पुगे पनि आन्तरिक उत्पादन, माग र लगानीको चक्र भने अझै शिथिल देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति लगायतका बाह्य सूचकहरू निकै मजबुत बनेका छन्। तर, आन्तरिक सूचकतर्फ भने उपभोक्ता महँगी गत वर्षको तुलनामा झन्डै दोब्बरले उकालो लागेको छ भने पर्याप्त तरलता र सस्तो ब्याजदरका बाबजुद बैंक कर्जा विस्तार, उत्पादन, रोजगारी र राजस्व संकलनको अवस्था अझै निराशाजनक छ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ४०.३ प्रतिशतले छलाङ मार्दै ३७ खर्ब ५५ अर्ब रुपैयाँ (करिब २४ अर्ब ६८ करोड अमेरिकी डलर) पुगेको छ, जुन इतिहासकै उच्च हो। बाह्य क्षेत्रलाई टेवा दिन मुख्य भूमिका खेलेको रेमिट्यान्स आप्रवाह पनि ३८.२ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। यसैगरी, मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर अर्थात् शोधनान्तर बचत गत वर्षको तुलनामा दोब्बर बढी अर्थात् ९ खर्ब २६…६ करोड रुपैयाँ पुगेको छ भने चालु खाता समेत ८ खर्ब २ अर्ब ६ करोडले बचतमा रही बाह्य क्षेत्र सुदृढ बनेको छ।
बाह्य क्षेत्रको यो उत्साहजनक चित्रविपरीत आन्तरिक बजारमा भने उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परेका छन्। गत वर्षको जेठमा २.७२ प्रतिशतमा सीमित रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) यस वर्षको जेठ मसान्तमा आइपुग्दा झन्डै दोब्बरले बढेर ५.२२ प्रतिशत पुगेको छ। यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा समूहको महँगी ५.३७ प्रतिशत पुगेको छ, जसले सर्वसाधारणको क्रयशक्ति कमजोर बन्दै गएको र बजार चलायमान हुन नसकेको संकेत गर्दछ।
बजारमा माग नहुँदा बैंकिङ प्रणालीमा थुप्रिएको रकम लगानी हुन नसकी तरलता व्यवस्थापनको नयाँ चुनौती थपिएको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप १०.३ प्रतिशतले बढेर कुल निक्षेप ८० खर्ब १२ अर्ब रुपैयाँ पुग्दा कर्जा विस्तार भने मात्र ६.२ प्रतिशत (३ खर्ब ४० अर्ब रुपैयाँ) मा खुम्चिएको छ, जुन गत वर्ष ८ प्रतिशत थियो। कर्जा प्रवाह सुस्ताएका कारण वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ६.०९ प्रतिशतबाट घटेर ४.८८ प्रतिशतमा र कर्जाको भारित औसत ब्याजदर ७.९९ बाट ६.६४ प्रतिशतमा झर्दा समेत उद्योगी-व्यवसायीहरू नयाँ लगानीका लागि आकर्षित हुन सकेका छैनन्।
यसैगरी, सेवा क्षेत्र अन्तर्गत नेपालमा आउने पर्यटकहरूले गर्ने खर्च (भ्रमण आय) मा सामान्य गिरावट आई ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ भने नेपालीहरूले विदेश भ्रमण र शिक्षामा गर्ने खर्च भने उच्च छ। ११ महिनामा भ्रमण व्यय १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जसमध्ये शिक्षाका लागि मात्रै १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ। आयको तुलनामा व्यय बढी हुँदा खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको प्रतिवेदनले देखाउँछ, जसले बाह्य क्षेत्रको सहजतालाई आन्तरिक उत्पादनशील क्षेत्र र पुँजी निर्माणमा रूपान्तरण गर्न विशेष नीतिगत हस्तक्षेपको आवश्यकता औंल्याएको छ।
अर्थ चाैतारी ।