काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकारले १६६ विधेयक सङ्घीय संसद्मा ल्याउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले सङ्घीय संसद्मा ल्याउने तयारी गरेका १६६ वटा विधेयकको सूची बुझाएकी अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ।
अध्यक्ष दाहालले सरकारले सङ्घीय संसद्मा पेस गर्ने विधेयकहरूको तयारी गरिरहेको थाहा पाउँदा खुसी लागेको भेटमा बताएको सचिवालयले जनाएको छ । उनले संविधानको कार्यान्वयनका लागि थुप्रै कानुनहरू निर्माण गर्न बाँकी रहेको र सङ्घीय संसद्लाई बिजनेस आवश्यक भएको उल्लेख गर्दै सरकारको तर्फबाट जतिसक्यो छिटो विधेयक पेस गर्न आग्रह गरेका थिए ।
छिटो छरितो ऐन कानुन निर्माण गरी देश र जनतालाई थप सहज गराउन र कानुनी व्यवस्थाको प्रत्याभूति दिलाउन सबैको सकारात्मक पहलकदमी जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
सरकारले जतिसक्यो छिटो र धेरै विधेयक संसद्मा पेस गर्दा कानुन निर्माणको काममा राष्ट्रिय सभाले कुनै ढिलाइ नगर्ने बताए । भेटमा मन्त्री गौतमले सङ्घीय संसद्मा पेस गर्ने विधेयकहरूको प्राथमिकता समेत गरेर तयारी गरिरहेको बताउँदै संसद्लाई बिजनेसविहीन हुन नदिने बताइन् ।
अर्थ चाैतारी ।