logo

२०८३ असार ३१, बुधबार

logo
  • २०८३ असार ३१, बुधबार
  • बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब

    बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब

    481
    SHARES
    बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब

    काठमाण्डौ । नेपाल बाल संगठन र बाल मन्दिरको रकम अपचलन गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–११ घर भएकी ५४ वर्षीया आशा श्रेष्ठ, ललितपुर महानगरपालिका–५ थसिखेल घर भएका ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ घर भएका ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ छन् ।



    बाल संगठनको रकम हिनामिनाबारे उच्च अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराई नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन–२०७७ को सिफारिसको आधारमा उनीहरू पक्राउ परेका हुन् । आरोपीहरूले बाल संगठनको रकम हिनामिना गरेर व्यक्तिगत लाभ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । असार २४ मा पक्राउ गरेर उनीहरूमाथी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।

    आशा श्रेष्ठ बाल मन्दिरको योजना तथा छात्रवृत्ति शाखा प्रमुख थिइन् । जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा उनलाई जिम्मेवारीबाट हटाइएको थियो । आशाले बालमन्दिरमा रहँदा १८ महिनाको दोहोरो तलब लिएको भेटिएको छ । नियमविपरीत लिएको रकमको १० प्रतिशत ब्याज र सावाँ रकम बुझाउन बालसंगठनले उनलाई पत्राचार गरेको थियो । पत्राचार गर्दा आशाले ‘कानुनी प्रक्रियामा जान्छु’ भनेको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । उनले भनिन्, ‘उहाँले बालसंगठनलाई २ लाखभन्दा बढी तिनुपर्ने देखिन्छ ।’

    सरकारले २०७७ मा विद्या न्यौपानेलाई बाल संगठनको अध्यक्ष नियुक्त गर्दै अपचलन गरेको सम्पत्ति असुल गर्नुपर्ने कार्यादेश दिएको थियो । त्यही कार्यादेशअनुसार न्यौपाने नेतृत्वको कार्यसमितिले अपचलन भएको केही रकम असुल गरेको छ । कार्यविधिविपरीत लिएको रकम बुझाउन अस्वीकार गरेकाहरूबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पत्रको आधारमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।

    ओमकृष्ण कर्माचार्य बाल संगठनको ललितपुर जिल्ला कार्य समितिका तत्कालिन सभापति हुन् । २०७७ भन्दा अगाडि उपत्यकाको काठमाण्डौ, भक्तपुर र ललितपुरमा छुट्टै जिल्ला कार्यसमिति थियो । अहिले ३ वटै जिल्लाको कार्यसमिति हटाएर केन्द्रीय कार्यालयबाट त्यहाँका बालबालिका र सम्पत्ति व्यवस्थापन गर्न थालिएको छ । बालसंगठन ललितपुर शाखाबाट कर्माचार्यले डेढ लाख रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट थाहा भएको सीआईबीका एसएसपी जबराले जानकारी दिए । बालसंगठनले कार्यविधिविपरीत लिएको रकम फिर्ता गर्दा ओमकृष्णले अस्वीकार गरेको अध्यक्ष विद्या न्यौपानेले बताइन् । उनले भने, ‘हामीले उहाँलाई पनि रकम फिर्ता गर्न भनेका थियौं, उहाँले मुद्दामा जान्छु भन्नुभयो ।’

    Nabil bank
    आरोपी राजेन्द्र कुमार श्रेष्ठ बालसंगठनको काठमाडौँ जिल्ला कार्य समितिको तत्कालीन सचिव हुन् । श्रेष्ठले बालसंगठनबाट रकम निकाशा लिएर कार खरिद गरेको भेटिएको छ । बालसंगठनको पैसाबाट किनेको मारुती सुजुकी कार अहिले बालसंगठनले तानेको छ । तर, सो गाडी संस्थाको रकबाट राजेन्द्र कुमार श्रेष्ठले व्यक्तिगत नाममा खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘कार्यालयको पैसाले व्यक्तिको नाममा गाडी किनेको देखिएको छ ।’

    गाडी खरिद गर्न आफुले सहकारीबाट पनि ऋण लिएको श्रेष्ठले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । उच्च स्तरिय जाँचबुझ आयोगले औंल्याएको हिनामिना रकम फिर्ता नगरेकाहरूको हकमा मात्र अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए । उनले भने, ‘संगठनको पैसा आरोपीहरूले आफुले लिएर निजी स्वार्थमा प्रयोग गरेको देखिएको छ ।’

    बालसंगठनको रकम हिनामिनाबारे अनुसन्धान गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयमा पत्राचार गरेको थियो । गृह मन्त्रालयको पत्रको आधारमा प्रहरी प्रधान कार्यालय हुँदै सीआईबीलाई अनुसन्धान गर्न भनिएपछि आरोपीहरू पक्राउ परेका हुन् ।

    बालसंगठनको जग्गा कौडीको मूल्यमा भाडामा दिएर ठगेको आरोपमा सीआईबीले यसअघि पनि अनुसन्धान गरेको थियो । जग्गा लिज प्रकरणमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंहसहित १७ जनालाई प्रतिवादी बनाएर अदालतमा ठगी मुद्दा दायर गरिएको थियो । बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा लिजमा दिँदा बृहस्पति विद्या सदन र व्यापारिक घरानासँग मिलेर पूर्वपदाधिकारीहरूले आर्थिक लाभ लिएको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट