काठमाण्डौ । विकू बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट ९ लाई पूर्ण विकू सदस्य वडा घोषणा गरेको छ । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विकूको कार्यक्रममा गैँडाकोट ९ लाई देशमै पहिलो पूर्ण विकू सदस्य वडा घोषणा गरेका हुन्।
गैँडाकोट वडा नम्बर ९ का करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकोले वडालाई पूर्ण विकू सदस्य वडा घोषणा गरिएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले बताए । गैँडाकोट ९ मा २ हजार १ सय ८८ जनसङ्ख्या रहेको छ । त्यसमध्ये १४ सय जनसंख्या विकूमा आवद्ध रहेका छन् । १ सय ९६ जना आकुरा सदस्य पनि विकूमा आवद्ध रहेको सचिव सापकोटाले बताए । गैँडाकोट ९ का ४ सय ९२ घरधुरी मध्ये अहिले विकू सहकारीमा ४ सय ७० घरधुरीको आवद्धता रहेको छ ।
घोषणा कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विकूमार्फत विपन्न बर्गले पनि आफ्नो जीवनस्तर उकास्न पाएको बताए । उनले सहकारीले आफ्नो ध्येयलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो र विकूले सहकारी क्षेत्रमा सदस्यमैत्री बनेर गरेका उत्कृष्ट कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट ९ भाग्यमानी वडा भएको बताइन् । सहकारी अभियानमा उत्कृष्ट रहेको नगरको विकूले देशमै पहिलोपटक पूर्ण सहकारी वडा घोषणा गर्नु सबैको लागि खुसीको कुरा भएको बताएकी छन् ।
विकू सहकारीका अध्यक्ष ओमप्रसाद सापकोटाले आफै केही गर्नुपर्छ भन्ने भावना भएका व्यक्तिहरु रहेकाले पूर्ण सदस्य वडा घोषणा गरिएको बताए । पूर्ण वडा घोषणा सँगै आन्तरिक आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । वडा कार्यालय, नगरपालिकासँग सहकार्य गरी गैरवित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने खालका कार्यक्रम गरिने उनको भनाई छ ।
गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले सहअस्तित्व, सहकार्य, सहलगानी नै सहकारी भएकाले आफ्नै वडाबाट पूर्ण सहकारी वडा घोषणा हुँदा खुसी लागेको बताए । उनले विकूसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने समेत बताए ।
विकूले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनका गरी १४३ वडामा २४ वटा सेवा केन्द्र मार्फत करिब १ लाख ३० हजार सदस्यलाई वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिए । यसरी देशमै पहिलो सहकारीले पूर्ण सहकारी सदस्य वडा घोषणा गर्न पाउनु विकूको लागि गौरवको विषय भएको बताएका छन् ।
अर्थ चाैतारी ।