काठमाण्डौ । राष्ट्रिय सहकारी बैंकले कर्जा नतिरेपछि विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ ।
तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीमा निकालेको हो । यस्तै मोरङ साविकको झोराहाट गाविस–६ को कित्ता नम्बर ५८७ को १३५५.६० वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको हो ।
बैंकले तुलसी बहुमुखी सहकारीकै नाममा मालपोत कार्यालय दमक झापामा दर्ता श्रेस्ता कायम रहेको झापा गौरादह नगरपालिका–१ को कित्ता नम्बर २५२४ को ४३९३.६२ वर्गमिटर र कित्ता नम्बर २५२६ को ५५६५ वर्गमिटर जग्गा र त्यसले चर्चेको लिगलगापात समेत लिलामीमा निकालेको छ ।
सहकारीले संस्थाको मोरङ र झापाको सम्पत्ति धितो राखेर राष्ट्रिय सहकारीबाट करिब दुई वर्ष अगाडि १० करोड रुपैयाँ चालू पूँजी कर्जा लिएको थियो । उक्त कर्जाको साँवा र ब्याज भुक्तानी पनि भुक्तानी नभएको र नवीकरण पनि नभएपछि बैंकले धितो लिलाम गरेर कर्जा असुल गर्न लागेको जनाएको छ ।
सहकारीलाई राष्ट्रिय सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व फर्स्यौट गर्न सहकारी व्यवस्थापन समितिलाई पठाएको छ ।
राष्ट्रिय सहकारी बैंकले ३ कात्तिकमा कर्जा तिर्न आउन ३५ दिने सूचना र १३ मंसिरमा धितो लिलामीको ३५ दिने सूचना प्रकाशित गरेको थियो । बुधबार पुनः धितो लिलामीको १५ दिने सूचना प्रकाशित गरेको हो । बैंकले उक्त धितो लिलामीमा लिन चाहनेले कबोल गरेको रकमसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
धितो लिलामबाट सम्पूर्ण असुल गर्नुपर्ने सावाँ–ब्याज तथा जरिबाना असुल नभए ऋणी संस्था र जमानतकर्ताको अन्य सम्पत्तिबाट असुल गर्ने र ऋणी तथा जमानतकर्तालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने जनाएको छ ।
अर्थ चाैतारी ।