काठमाण्डौ । मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको आयात दर नेपालमा बर्सेनि बढ्दो क्रममा छ । पछिल्लो समय विषादीको प्रयोग बढ्दै गएपछि नेपालमा किटनाशक विषादीको आयात बर्सेनि बढ्दै गएको छ । प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो समय विषादीको प्रयोग बढ्दै गएकाले आयात पनि बढिरहेको हो ।
यसरी बर्सेनि आयातदर र प्रयोगदर बढ्दै जानुले सरकारको विषादी नियन्त्रण गर्ने कार्यक्रम सफल हुन सकेको छैन्।
प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्दका अनुसार अहिले वार्षिक डेढ अर्बभन्दा बढीको ३५ लाख ३० हजार २ सय ६४ किलो विषादी प्रयोग भइरहेको छ । बालीमा रोगकिराको प्रकोप बढिरहेकाले पनि किटनाशक विषादीको प्रयोग बढिरहेको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले जानकारी दिए ।
केन्द्रले आवश्यकताभन्दा बढी कीटनाशक विषादी प्रयोग नगर्नसमेत अनुरोध गरेको छ । विषादीको प्रयोग गर्नुपर्ने अवस्थामा सिफारिस गरिएको मात्रामा मात्रै विषादी प्रयोग गर्न किसानलाई अनुरोध गरिएको हो ।
विषादीको प्रयोग आवश्यक पर्ने नै भएमा सुरक्षित र प्रभावकारी विषादी सावधानीपूर्वक छर्न कृषि विज्ञको सुझाव छ । आफु सुरक्षित भएर बिषादीको प्रयोग गर्नुपर्नेमा कृषि अभिकृत राजुप्रसाद शर्माले जोड दिएका छन् । उनले भने, विषादी शरीर भित्र नपस्ने पहिरन लगाउनुपर्छ । मात्रा कति राख्ने, कुन समयमा राख्ने, हावाको दिशा आदि सबै चेक गर्नुपर्छ । उनले सकेसम्म जैबिक बिषादीको प्रयोग गर्न किसानलाई सुझाव दिएका छन् ।
किटनाशक विषादीको बढ्दो प्रयोगको असर भने नागरिकले उपभोग गर्ने तरकारी र अन्नबालीका साथै हावापानी र जमिनमा पनि पर्ने गरेको छ ।
किसानले विषादी खाद्यान्नसहित हरियो तरकारीमा प्रयोग गर्दै आएका छन् । यस्ता विषादीयुक्त खाद्यान्न र तरकारीको नियमित उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मृगौला, आँखाको ज्योति गुम्ने, अपांग बच्चा जन्मिने, प्यारालाइसिससहित अन्य प्रकारका दीर्घकालीन रोग लाग्ने सम्भावना हुने चिकित्सकको भनाई छ । यस्तै विषादीको सम्पर्कमा आउँदा तत्कालै रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउनेलगायतका समस्या देखा पर्ने चिकित्सक बताउछन्।
अर्थ चाैतारी ।