काठमाण्डौ । अध्यागमन विभागले ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरुवात गरेको छ । आज उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाको शुभारम्भ गरेसँगै फागुन १ गतेदेखि सर्वसाधारणलाई सेवा लिन सहज हुने विभागले बताएको छ ।
अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने छ ।
विभागले आजदेखि अध्यागमन प्रशासनलाई पूर्ण रूपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्न सुरू गरेको हो । विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ ।
सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरू भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको विभागले जनाएको छ । सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ ।
अर्थ चाैतारी ।