काठमाण्डौ । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन । बचतकर्ताको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
सो कार्यालयका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । दुर्गा लामो समय बुटवलस्थित केन्द्रीय कार्यालयमै कार्यरत थिए । यो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर (जिबी) राई हुन् । जिवी २०७८ सम्म अध्यक्ष थिए । २०७८ सम्म गुरुङ उपाध्यक्ष हुनुहुन्थ्यो । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।
ऋणको ब्याज समेत जोड्दा जीवीको नाममा ८७ करोड ६९ लाख रुपैयाँ देखिएको छ। सुप्रिममा दुई वर्षदेखि समस्या देखिएको थियो। सहकारीले बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि विवाद बढेको थियो। संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहीन छन। सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ ।
अर्थ चाैतारी ।