logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • राष्ट्र बैंक प्रतिनिधि सहित सहकारी विभागले सहकारी अनुगमन सुरु गर्ने

    राष्ट्र बैंक प्रतिनिधि सहित सहकारी विभागले सहकारी अनुगमन सुरु गर्ने

    1.4K
    SHARES
    राष्ट्र बैंक प्रतिनिधि सहित सहकारी विभागले सहकारी अनुगमन सुरु गर्ने

    काठमाण्डौ। नेपाल राष्ट्र बैंकले प्रतिनिधि उपलब्ध गराएपछि सहकारी विभागले सहकारी संस्था अनुगमन निरीक्षण सुरु गर्ने भएको छ ।राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण गर्न तीन प्रतिनिधि पठाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोर्कणमणि दुवाडीले बताए ।



     

    केन्द्रीय बैंकले प्रतिनिधि पठाएसँगै सहकारी विभागले अनुगमन सुरु गर्ने उनको भनाइ छ । सहकारी विभागका उपरजिस्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय राष्ट्र बैंक प्रतिनिधि आएसँगै अनुमगनको ‘मोडालिटी’ बारे बिहीबार छलफल भएको बताए । ‘कुन मोडालिटी र कसरी अनुगमन गर्ने भनेर बिहीबार छलफल भएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका २०७७ अनुसार अनुगमन निरीक्षण सुरु हुन्छ,’ उनले भने, ‘निर्देशका अनुसार उपरजिस्ट्रारको नेतृत्वमा तीन समूह बनाएर अनुगमन सुरु गर्छौं ।’

     

    विभागमा कार्यरत लेखा उपसचिव र दुई उपरजिस्ट्रारको नेतृत्वमा तीन समूह बनाउने र हरेकमा राष्ट्र बैंकका एक प्रतिनिधि समेत रहने गरी अनुगमन निरीक्षण हुने विभागले जनाएको छ ।

     

    सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिकामा निरीक्षण वा अनुगमन टोली गठन गर्दा कानुनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक नियामक निकायले कम्तीमा अधिकृत स्तरको कर्मचारीको नेतृत्वमा सहकारी संस्थाको सदस्य संख्या, कारोबार र कार्यक्षेत्र समेतका आधारमा कार्यबोझ विचार गरी निरीक्षण भए तीन जनासम्म र अनुगमन भए दुईदेखि पाँच जनासम्म राख्नुपर्ने व्यवस्था गरेको छ ।

     

    यस्तो टोलीमा नियामक निकायले संस्थाको सदस्य संख्या र कार्यक्षेत्र समेतका आधारमा कार्यबोझ हेरी बाटो म्यादबाहेक निरीक्षण भए एकदेखि दुई दिनसम्म समय तोक्नुपर्ने व्यवस्था छ । यस्तै अनुगमन भए ५ करोडसम्म जायजेथा भएका सहकारी संस्थाका लागि तीन दिन र ५ करोडदेखि २५ करोडसम्म जायजेथा भएकालाई पाँच दिन समय तोक्नुपर्ने व्यवस्था छ । यस्तै २५ देखि ५० करोडसम्म जायजेथा भएका सहकारी संस्थालाई सात दिन, ५० करोडदेखि १ अर्बसम्म जायजेथा भएकालाई १० दिन र १ अर्बभन्दा बढी जायजेथा भएका सहकारीलाई १२ दिनको समय दिनुपर्ने व्यवस्था छ ।

     

    सहकारी संस्थाको सेवा केन्द्र संख्या लगायत आधारमा कार्यबोझको विचार गरी निरीक्षण वा अनुगमन टोली गठन गर्दा आवश्यकता अनुसार समय अवधि थप गर्न सकिने व्यवस्था छ । सोही निर्देशिकाका आधारमा विभागले तीन टोली गठन गरेर सहकारी संस्था अनुगमन निरीक्षण सुरु गर्न लागेको विभागका सूचना अधिकारी उपाध्यायले बताए ।

     

    विभागले अहिले राम्रोसँग चलिरहेका केही संस्था र समस्यामा रहेका सहित सहकारी बैंक पनि अनुगमन निरीक्षण गर्ने तयारी गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट