काठमाण्डौ । वैदेशिक रोजगारको सिलसिलामा फागुनमा ६५ हजार बढी नेपाली विदेशिएका छन् । विभागको तथ्याङ्क अनुसार फागुनमा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । योसँगै चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् ।
विभागको तथ्यांकअनुसार माघको तुलनामा फागुनमा रोजगारको निम्ति विदेश जाने नेपालीको संख्या झण्डै तीन हजारले वृद्धि भएको छ । माघ महिनामा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारको सिलसिलामा विदेशिएका थिए ।
वैदेशिक रोजगारीका लागि यो वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको आकर्षण बढेको देखिएको छ । वैदेशिक रोजगार विभगाका अनुसार गत एक महिना फागुनमा मात्र १८ हजार ७ सय ७ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन् । यस्तै साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्याङ्कमा उल्लेख छ ।
यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ । गत फागुनमा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो ।
अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।
अर्थ चाैतारी ।