काठमाण्डौ । मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रहेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुनसम्मको तथ्यांकले देखाएको हो।
विभागका अनुसार यो ८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ देखिएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा २.५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ थियो।
अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा घटेको अवस्था छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ८ महिनामा आयात र निर्यातमा कमि आएको छ ।
फागुन समान्तसम्मको अवधिमा आयात २.६६ प्रतिशतले घटेको हो । कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजारु रुपैयाँ बराबरको आयात गरेको छ । तर, यो गत आवको फागुन मसान्तसम्मको तुलनामा भने २८ अर्ब १६ करोड २८ लाख रुपैयाँ कमी हो । गत आवको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको आयात भएको थियो ।
यता, निर्यात पनि ३.९९ प्रतिशत घटेको छ । चालु आवको ८ महिनामा नेपालले कुल १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । गत आवको फागुन मसान्तसम्ममा नेपालबाट कुल १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
त्यस्तै, नेपालले कुल ११ खर्ब ३० अर्ब ८४ कराड १ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २.७८ प्रतिशतले कम हो । कुल वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ छ ।
अर्थ चाैतारी ।