logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आजबाट सुरूहुने एसईई परीक्षामा ५ लाख भन्दा धेरै विद्यार्थी सहभागी हुँदै, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

    आजबाट सुरूहुने एसईई परीक्षामा ५ लाख भन्दा धेरै विद्यार्थी सहभागी हुँदै, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

    2.8K
    SHARES
    आजबाट सुरूहुने एसईई परीक्षामा ५ लाख भन्दा धेरै विद्यार्थी सहभागी हुँदै, उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

    काठमाण्डौ । यस वर्षको एसईई परीक्षा आज (बिहीबार) देखि सुरु हुँदैछ। आजदेखि २७ चैतसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।



    बोर्डका अध्यक्ष प्रा.डा. महाश्रम शर्माले भयरहित ढंगले परीक्षामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरेका छन्।आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ।

     

    परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुनेछन्। कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

    परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार त्यस्ता विद्यार्थी बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक एक, पर्सा र सप्तरीबाट दुई दुई तथा रुपन्देहीबाट चार जना छन्। परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

     

    यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले एसईई परीक्षा दिने छन्। प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ।परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ।

     

    जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ। जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।

     

    एसईई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुनेछन्। प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ। देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।

     

    त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ।

     

    परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन। यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ।विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ।

     

    परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले उत्तीर्ण हुन कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने जानकारी दिए।

     

    परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए। उनका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्।


    अर्थ चाैतारी
  • विहिबार, १५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट