काठमाण्डौ । नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता पाएको छ । काठमाण्डौ विश्वविद्यालयले आइतवार हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण सफलता पूर्वक गरेको हो ।
करिब २ वर्ष अध्ययन र अनुसन्धान गरेर विश्वविद्यालयले आज हाइड्रोजन रिफिलिङ स्टेसनको परीक्षण गर्न सफल भएको हो ।
विश्वविद्यालयले नै नेपालमा पहिलो पटक ८ महिनाअघि हाइड्रोजन कार ल्याएको थियो । त्यही कारमा आज विश्वविद्यालयले हाइड्रोजन रिफिलिङ स्टेसनबाट कारमा हाइड्रोजन कारमा राखिएको हो । यो कारमा इन्धनको रुपमा डिजेल र पेट्रोल प्रयोग हुँदैन । सो कारमा इन्धनको रुपमा हाइड्रोजन प्रयोग हुन्छ ।
काठमाण्डौ विश्वविद्यालयका नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्रा. डा. विराजसिंह थापाले स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको बाताए ।
“विश्वविद्यालयले नै भएपनि हाइड्रोजन उत्पादन गरेर, भण्डारण गरेर, गाडीमा रिफिलिङ गर्ने काम सफलतापूर्वक गरेका छौं । उक्त हाइड्रोजन नेपालकै जलविद्युत र पानी प्रशोधन गरेर तयार पारिएको हो,” उनले भने ।
अझै पनि नेपालमा हाइड्रोजनलाई कानूनी स्वीकार गरेको छैन । कार्यविधि पनि तयार नभएको थापाले बताए । विश्वविद्यालयले अहिले ५ केजी हाइड्रोजन रिफिलिङ स्टेसन बनाएको हो । व्यापारिक प्रयोजनका लागि भने ३० केजीभन्दा माथिको रिफिलिङ स्टेसन आवश्यता पर्नेछ ।
अर्थ चाैतारी ।