काठमाण्डौ । पछिल्लो समय नेपालमा सहकारीको रकम अपचलनको विषयय बढिरहेको बेला भारतमा पनि सहकारी बैंकको बचत अपचलनको विषयले भारतीय सहकारी क्षेत्र तरंगित बनेको छ । भारतको यू इंडिया कोअपरेटिभ बैंकका महाप्रबन्धक हितेश मेहता र लेखा प्रमुखले बैंकको एक अर्ब २२ करोड भारतीय रुपैयाँ अपचलन गरेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मुम्बई प्रहरीले उनीहरुलाई १२२ करोड भारतीय रुपैयाँको हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत देबर्शी घोषले दादर प्रहरी स्टेशनमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् । मेहतालाई सोधपुछका लागि मुम्बईको दक्षिणी क्षेत्रमा रहेको कार्यालयमा लगिएको छ । उजुरीअनुसार, बैंकका लेखा प्रमुख मेहताले आफ्ना सहयोगीसँग मिलेर प्रभादेवी र गोरेगाँव शाखाबाट रकम हिनामिना गरेको बुझिएको छ ।
प्रहरीले भारतीय न्याय संहिताको दफा ३१६(५) (बैंककर्मी तथा सार्वजनिक सेवकद्वारा विश्वासघात) र दफा ६१(२) (अपराधी षड्यन्त्र) अन्तर्गत मुद्दा दायर गरेको छ । प्रहरीले पक्राउ गरेपछि भारतको केन्द्रीय बैंक भारतीय रिजर्ब बैंकले सञ्चालक समितिलाई पदमुक्त गरेर व्यवस्थापन आफू मातहत लिएको छ ।
रिजर्ब बैंकले सो सहकारी बैंकको वित्तीय स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बचतकर्ताहरूको सुरक्षाका लागि लागि काम गरिरहेको छ । न्यू इंडिया कोअपरेटिभ बैंकका २८ शाखाहरू छन्, जसको अधिकांश मुम्बईमा छन् भने दुई वटा सूरत र एउटा पुणेमा रहेका छन् । आरबीआईको कारबाहीपछि ग्राहकहरूमा त्रास फैलिएको छ । धेरैजसो ग्राहकहरू शुक्रबार बिहान आफ्ना बचत झिक्न बैंक शाखामा पुगेका थिए ।
अर्थ चाैतारी ।