काठमाण्डौ । सहकारीहरूले पनि अब उच्च गुणस्तरको प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् । आइतबार काठमाडौंमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको साकोस शिखर सम्मेलनमा सहकारीमा प्रविधिको प्रयोगको विषयमा छलफल भएको हो ।
सम्मेलनमा सहकारीमा प्रविधिको प्रयोग : विद्यमान चुनौति र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तोता डा. भोजराज घिमिरे र मनोज घिमिरेले अब सहकारीमा प्रविधिको प्रयोग आवश्यक रहेको र यसका लागि तयारी पनि भइरहेको जानकारी दिए ।
डा. घिमिरेले सहकारीमा प्रविधिको प्रयोगको अभ्यास, अन्तर्राष्ट्रिय अभ्यास, प्रविधिको आवश्यकता र वर्तमान घटनाक्रमहरुको विषयमा प्रस्तुति दिँदै सहकारीमा बैंकहरुको भन्दा उच्च प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने बताए । उनले यसका लागि आफ्नो कम्पनी नियोसिस टेक्नोलोजी प्रालिले नेफ्स्कुनसँग सहकार्य गरेर काम गरिरहेको पनि बताए ।
‘हामी बैंकको भन्दा पनि उच्च प्रविधिको प्रयोग गर्दैछौं, यसले सेवाग्राही तथा सदस्यहरुलाई सहज सेवा हुन्छ, अहिलेको जस्तो ढड्डाको प्रयोगभन्दा पनि अब डाटामा निर्धारित सेवा हुन्छ,’ उनले भने । उनले डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफोरमेसन र डिजिटल इन्क्लुजन आवश्यक रहेको बताए । घिमिरेले साझा प्लेटफर्ममार्फत् सेवा दिनुपर्ने, न्यून लागतमा अधिकतम् सेवा प्रवाह गर्नुपर्ने र प्रविधिमार्फत् स्थानीयकरण गर्नु पर्ने धारणा पनि राखे ।
यस्तै, सो कार्यपत्रमाथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, डा. सोहनबाबु खत्रीले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताले पनि अब सहकारीमा प्रविधिको आवश्यकता रहेकोले जति सक्दो छिटो सम्पूर्ण सहकारीहरुलाई डिजिटाइजेसन गर्न प्रयोगमा पहल गर्नु पर्ने बताएका थिए ।
एकीकृत सञ्जालको खाँचो
सम्मेलनमा सहकारी क्षेत्रमा एकीकृत सञ्जालको आवश्यकता पनि औंल्याइएको छ । सम्मेलनमा धारणा राख्ने अधिकांश वक्ताले सहकारीमा एकीकृत सञ्जाल आवश्यक रहेको बताएका हुन् । नेफ्सकुनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पोखरेलले साकोस अभियानको मार्गचित्र : दीगो एवम् एकीकृत सञ्जाल विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा एकीकृत सञ्जालको आवश्यकता रहेको बताएका हुन् ।
उनले कार्यपत्र प्रस्तुत गर्दै प्रभावकारिता, कुशलता र उत्पादकत्व बढाउन, परिवर्तनलाई दुर्त सम्बोधन र बजारमा व्यवसाय सुधारमा लचकताका लागि एकीकृत सञ्जाल आवश्यक रहेको बताएका हुन् । भावी प्रविधिको नियन्त्रण गर्न, विविध किसिमका पुँजी र वित्तीय स्रोतहरुमा पहुँच तथा अद्यावधिक विज्ञता र जोखिम न्यूनीकरणका लागि एकिकृत सञ्जालको आवश्यकता छ,’ उनले भने ।
यस्तै, उनले सञ्जालमा स्तरीयता, स्वनियमन र अनुशासनका लागि पनि एकीकृत सञ्जाल आवश्यक रहेको धारणा राखे । पछिल्लो समय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान बढ्दै गएको बताउँदै उनले समाज सुधार र सर्वसाधारणको जीवनस्तर सुधारका लागि सहकारीको महत्वपूर्ण योगदान रहेको बताए । विश्वमा २१ प्रतिशत र नेपालमा २५ प्रतिशत मानिसको आवद्दता सहकारीमा छ उनको भनाइ छ । नेपालमा सहकारीको नियमन पनि केन्द्रमा ०.४१ प्रतिशत, प्रदेशको ३०.०८ र स्थानीय तहमा ७९.४९ प्रतिशत अधिकार रहेको उनले बताए ।
यस्तै, उनले अहिलेको बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान तथा व्यवस्थापनमा सरकारको सहजिकरणको अभाव रहेको बताउँदै सरकारले सहकारीमा तरलता उपलब्ध गराउन कुनै कार्यक्रम नल्याएको गुनासो गरे । उनका अनुसार सहकारीलाई सरकारले औपचारिक क्षेत्रको रुपमा पनि लिएको छैन । सीईओ पोखरेलको कार्यपत्रमा टिप्पणीकर्ताका रुपमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित, जनउत्थान साकोसका अध्यक्ष ज्ञानु पौडेल, दोलखाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सीईओ दिपक बस्नेत थिए ।
टिप्पणीकर्ता दिपक बस्नेतले पछिल्लो समय सहकारीमा प्रविधिको प्रयोग बढेको बताए । यस्तै, अर्का टिप्पणीकर्ता ज्ञानु पौडेलले स्थिरिकरण कोष र स्थिरता कार्यक्रमलाई सँगै लिनु पर्ने धारणा राखिन् । उनले सहकारीको नेतृत्वमा महिलाको उपस्थिती पनि बढ्नु पर्ने बताइन् । उनले पनि सहकारीमा एकीकृत सञ्जालको खाँचो रहेको धारणा राखिन् ।
कार्यपत्रका टिप्पणीकर्ता सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले नेफ्स्कुनले संचालन गर्दै आएका एक्सेस र प्रोवेसन जस्ता ब्राण्डिङ कार्यक्रमलाई सरकारले स्वामित्व लिन नसक्ने धारणा राखे । उनले कर्जा सूचना केन्द्र असार २० गतेभित्र अवधारणा पेश गर्ने र सुझाव अनुसार अगाडि बढ्नु पर्ने धारणा पनि राखे । सो सत्रको संयोजन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका थिए ।
अर्थ चाैतारी ।