काठमाण्डौ । काठमाण्डौका अधिकांश सुन पसलमा मानिसहरूको चहलपहल बढ्दै गएको छ । तीज नजिकिएसँगै सुनका गर-गहना खरिद गर्ने ग्राहकको भीड बढ्न थालेको हो । पसलमा भीड लागेपछि ग्राहकले अर्डर दिँदै घर फर्किन थालेका छन् भने उनीहरुले रोजेजस्तो गहना पाउन पनि मुस्किल नै बनेको छ ।
सुन पसलमा ग्राहकको संख्या बढेसँगै सुनको व्यापार पनि बढ्दै गएको सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले बताए । उनका अनुसार अघिल्ला महिनाहरुमा सुनको खासै कारोबार नभएपनि तीज नजिकिएसँगै पसलमा ग्राहकको घुइँचो लाग्न थालेको हो । तीज लक्षित गर्दै सुनको व्यापार बढ्ने अपेक्षामा पनि सुन व्यवसायीहरूले लिएका छन् । सुनको मूल्यका पनि एक वर्ष यता उत्तरचढाव आइरहेको छ । शाक्यका अनुसार अहिले बजारमा सुनको माग उच्च छ । माग उच्च भए पनि माग अनुसार सुनको उपलब्धता हुन सकेको छैन । ग्राहको माग उच्च हुँदा र सुनको अभाव हुँदा माग सम्बोधनन गर्न कठिन भएको उनको भनाइ छ ।
अहिले राष्ट्र बैंकले दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । ‘अघिल्ला वर्षहरूमा तीज लाग्नुभन्दा महिनौं दिन अगाडिदेखि सुन पसलहरूमा ग्राहकको भीड लाग्न थाल्थ्यो, यस वर्ष त्यस्तै छैन, तर अघिल्ला महिनाको भन्दा यस महिना सुनको व्यापार बढेको छ,’ उनले भने । बुधबारको मूल्य अनुसार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज भदाै ८ गते तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपैयाँ छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । तीजको अवसरमा अन्य दिनको भन्दा तुलनात्मक रूपमा कारोबार बढ्ने अपेक्षा सुन व्यपारीहरुले लिएका छन् ।
सुन गहनाको रूपमा प्रायः प्रयोग गरिन्छ । पछिल्लो समय देखाउनको लागि मात्र भएपनि सुन किन्ने प्रचलन बढेको छ । विवाह तथा चाड वर्ष लक्षित गरेर सुन खरिद गरिन्छ । अहिले पनि तिजको अवसर पारेर सुन खरिद गर्नेहरुको घुइँचो सुन पसलमा देख्न सकिन्छ । विभिन्न डिजाइनका सुन नेपाली बजारमा पनि पर्याप्त उपलब्ध छन् । सरकारले पनि अहिले सुनको आयातमा कडाइ गरेको छ । अहिले बजारमा छड्के तिलहरी, रानी हार, चन्द्र, झुम्का, सिक्री, टप, चुरा नौंगेडी, जन्तर आदि डिजाइनका सुन खोज्न महिलाहरू आउने गरेको सुन व्यापारीहरु बताउँछन् ।
अर्थ चाैतारी ।