काठमाण्डौ । बैंकमा प्रमुख कार्यकारी अधिकृत एक संवेदनशील र अत्यन्तै जिम्मेबार पद हो । तर केहि बैंकरहरुले यसलाई आफ्नो लाज छोप्न बैंकलाई निसाना बनाएको दखिन्छ । सायद त्यस्तै भएको प्रभु बैंकमा पनि । राष्ट्र बैंकको निती अनुरुप सेन्चुरी कर्मसियल बैंकसंग मर्जरको अन्तिम तयारी गरीरहेको प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत रश्मी पन्तलाई बनाउन प्रस्ताव गरीएपछि बैंकमा हलचल मच्चिएको छ ।
पन्त सन् २०१५ मा प्रभु बैंकमा बिजनेश प्लानिङ अफिसरको रुपमा छिरेकी थिइन् । पन्तलाई पाँच वर्षभित्रैमा चिफ अपरेटिङ अफिसर बनाइएको थियो । बर्षौदेखि बैंकमा काम गर्दै आएका, पन्तभन्दा कैयौं गुणा बढि सिनियहरुलाई समेत पाखा लगाएर सन २०२० मा मानव संशाधन विभाग तथा कर्पोरेट अफिसर सिओ, (वेभसाइटमा सिओओ, चिफ अपरेटिङ अफिसर उल्लेख छ) बनाइएकी रश्मी पन्तको विषयमा उतिबेला पनि कुरा उठेको थियो । तर, व्यवस्थापनले कुरा उठाउने कर्मचारीहरुलाई सेटिङ गरेर थामथुम पारेकोमा अहिले पुनः चिफ अपरेटिङ अफिसर पदमा बढुवा गरेपछि अर्को प्रश्न उठेको छ । हालसम्ममा उनी सात बर्षको अवधिमा ३ पटक बढुवा भइसकेकी छन् । अब उनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्नेगरी संचालक समितीमा नाम लगिएको छ । यसै कुरालाई आधार बनाएर बैंकका कर्मचारीहरु अस्वभाविक बढुवाको खारेजिको माग गर्दै आन्दोलित समेत भएका छन् ।
उता बैंकका हालैका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनकाे भने कार्यकाल आउँदो माघ १८ गते सकिदै छ । साथै सिइओ शेरचनले पन्तलाई सिइयो बनाउनकै लागि प्रस्ताव अघि सारेको स्रोत्तले जनाएको छ । शेरचनलाई २०७५ माघ १० गते बसेको सञ्चालक समितिको बैठकले माघ १८ गतेबाट लागु हुनेगरी दोस्रो कार्यकालका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो । कार्यकारी अधिकृतको कार्यकाल ४ बर्ष रहन्छ । कर्मचारीहरुले उठाएको प्रश्नको विषयमा जवाफ नदिई सिईओ अशोक शेरचन विदेश उडेपछि प्रभु बैंकभित्र कर्मचारीहरुको आक्रोस भुसको आगो झै सल्किदै गइरहेको एक कर्मचारीले बताए । सो सम्बन्धमा शेयर लगानीकर्ताहरुको समेत चासो हुन थालेपछि सिईओ शेरचन विदेश उडेको बताइन्छ ।
प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनको नेतृत्वमा भदौ ७ गतेदेखि प्रभु बैंककाे केन्द्रीय कार्यालयमा आन्दोलन गरेका छन् । आन्दोलनकारी कर्मचारीहरुले बैंकभित्र व्यक्तिगत सम्बन्ध, पावर र पहुँचका आधारमा गरिएको बढुवा खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग अघि सारेका छन् । आन्दोलनरत कर्मचारीहरुले बैंकभित्र संस्थागत सुशासन कायम नरहेको, संस्थागत संस्कृतिको विकास गर्नुपर्ने, विभेदकारी पदोन्नतीका क्रममा योग्यता पुगेर पनि छुटेका सबैको पदोन्नती गर्नुपर्ने, योग्यता नपुगी बढुवा भएकाहरुको खारेजी गर्नुपर्ने माग अघि सारेका छन् ।
आन्दोलनमा सहभागी कर्मचारीहरुले सिईओको व्यक्तिगत सम्बन्ध भएकाहरुलाई मनोमानी लगातार बढुवा गर्ने अन्यलाई वर्षौसम्म एउटै पदमा सडाएर राख्ने नीति तत्काल संशोधन नभए दैनिक सेवा सञ्चालनमै अबरोध सिर्जन गर्ने गरी आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
अर्थ चाैतारी ।