काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघको भावि नेतृत्वका लागि आगामी पुस अन्तिम साता निर्वाचन हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले महासंघको निर्वाचनसहितको ३१ औं वार्षिक साधारणसभा पुस २७ र २८ गते ललिपुरमा गर्ने निर्णय गरेको हो ।
उक्त निर्वाचनले एक पदेन सदस्यसहित २५ जना कार्यसमिति सदस्य चयन गर्नेछ । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षमा बसेको बैठकले पुस २३ गतेभित्र साधारण सभाका राष्ट्रिय प्रतिनिधि छनोट गरी पठाइसक्नु सम्पूर्ण सदस्य संघहरुलाई परिपत्र गरेको छ ।
साथै, सोही मितिभित्र आर्थिक बर्ष २०७९÷८० को लेखा परिक्षण प्रतिवेदनसहित सदस्यता शुल्क समेत बुझाउने समितिले सदस्य सघंहरुलाई भनेको अध्यक्ष मिनराज कँडेलले बताए ।
आइतबार बैठकले सहकारी साइबर सुरक्षा मार्गदर्शन २०८० स्वीकृत गरि साधारणसभामा पेस गर्ने निर्णय समेत गरेको छ । साइबर अपराधीहरुबाट हुने आक्रमणहरुबाट हुने डाटा तथा वित्तीय नोक्सानीहरु विरुद्ध सुरक्षा गर्न साइबर सुरक्षा मार्गदर्शन आवश्यक रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् ।
अर्थ चाैतारी ।