ठमाण्डौ । नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक प्रतिष्पर्धामा छन् ।५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी प्रतिष्पर्धामा छन् ।
२०६१ सालमा प्रहरी निरीक्षकबाट भर्ना भएका टोलीमध्ये अहिले बढुवाका लागि प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट प्रतिष्पर्धामा छन् ।त्यस्तै, राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि प्रतिष्पर्धामा छन् ।प्रहरीमा पछिल्लो केही समययता सिनियरिटीका आधारमा बढुवा हुँदै आएकाले त्यही कायम हुनुपर्ने भन्दै शीर्ष ७ मा रहेकाहरुले लबइङ गरिरहेका छन् ।
यद्यपि, वरीयतामा पछाडि रहेका राजन लिम्बु, सन्तोष तामाङ र विनोद घिमिरेले पनि शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वसामू दबाब दिइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृतका रुपमा काम गरेको अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेका अधिकृत हुन् ।
तीन जनालाई बढुवा गराउन तीब्र दबाब आएपछि प्राविधिक तर्फको एउटा दरबन्दी जनपथतर्फ ल्याएर रिक्त दरबन्दी बढाउने प्रयास समेत भएको थियो ।एसएसपी मोहन पोखरेलले राजीनामा दिएपछि खाली रहेको दरबन्दीमा समेत बढुवा गरेर दुई जनालाई बढुवा गर्न लबइङ भएको थियो । यद्यपि, हालसम्म त्यो प्रस्ताव अघि बढेको छैन ।
प्रहरी अधिकृतहरुका अनुसार, वरियताक्रम अनुसार बढुवा हुने भए केही दिनअघि नै सूचना निस्किसक्थ्यो । तर, वरियतामा पछाडि रहेकाहरुको तीव्र लबइङका कारण बढुवामा ढिलाइ भएको अधिकृतहरु बताउँछन् ।विगतमा अवैज्ञानिक रुपमा बढुवामा छुटाइएको भन्दै एसपी नरेन्द्र उप्रेती, आभुषण तिम्सिना लगायतले राजीनामा दिएका थिए ।
अर्थ चाैतारी ।