logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ : महासंघ

    शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ : महासंघ

    780
    SHARES
    शिक्षणको भाषा विद्यालयले नै छनोट गर्न पाउनुपर्छ : महासंघ

    काठमाण्डौ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शिक्षणको भाषा सम्बन्धित विद्यालयको निर्णय बमोजिम गरिनुपर्ने बताएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा महासंघका प्रतिनिधिहरूले विद्यालय शिक्षा विधेयकको संशोधनको सम्बन्धमा धारणा राख्दै यस्तो बताएका हुन् ।



     

    उनीहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा गणित, विज्ञान र कम्प्युटर अङ्ग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख गरिएको भन्दै सबै विद्यालयमा यो प्रावधान लागू गर्नु नहुने बताएका छन् । बैठकमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालयमा कुन भाषामा शिक्षण गराउने भन्ने कुरा अभिभावकहरूसँगको सल्लाहमा विद्यालयले टुङ्ग्याउनुपर्ने बताए ।

     

    उनले भाषाका कारण गणित र विज्ञानमा विद्यार्थीहरूको सिकाइ कमजोर बन्ने अवस्था आउन दिनु नहुने बताए । उनले भाषाको विषय विद्यालय स्वयंले निर्णय गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै सरकारको अनुदानले पूर्ण रूपमा विद्यालय सञ्चालन गर्न नपुगेको अवस्थामा अभिभावकहरूसँग आर्थिक साझेदारी गर्न सकिने व्यवस्था गर्नुपर्ने पनि बताए ।

     

    विद्यालयको प्रधानाध्यापक गाउँपालिकाले नियुक्ति गर्न सक्ने व्यवस्था गर्नुपर्ने र नियुक्ति कार्यपालिकाले नगरी सोझै प्रमुख प्रशासकीय अधिकृतले गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो। कार्यपालिकाले प्रअ नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप हुने उनले बताए ।

     

    उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकहरू मध्येबाटै तोकिनुपर्ने बताए । सामुदायिक विद्यालयहरूलाई सार्वजनिक विद्यालय नभनी सामुदायिक विद्यालय नै भनेर नामकरण गर्नुपर्ने उनको भनाई छ । यस्तो नाम राखिएमा समुदायले अपनत्व महसुस गर्ने उनले बताए । उनले विद्यालय व्यवस्थापन समितिसँगको परामर्शमा मात्रै शिक्षक सरुवा हुने व्यवस्था गर्नुपर्ने बताए । उनले ऐनमा विद्यालय व्यवस्थापन महासंघको पनि व्यवस्था हुनुपर्ने माग गरे ।


    अर्थ चाैतारी
  • सोमबार, २३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट