काठमाण्डौ । सरकारले माघ १ गतेदेखि स्वास्थ्य बीमामा सह–भुक्तानी प्रणाली लागू गर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आज पत्रकार सम्मेलन गर्दै माघदेखि स्वास्थ्य बीमामा सह–भुक्तानी प्रणाली लागू हुने जानकारी दिएको हो ।
अहिले बीमाबापत निश्चित शुल्क तिरेपछि उपचार सबै निःशुल्क हुने व्यवस्था रहेको छ । तर, माघ १ गतेदेखि उपचारमा १ लाख रुपैयाँ खर्च भए सेवाग्राहीले १० हजार रुपैयाँ आफैंले तिर्नुपर्ने बोर्डले जनाएको छ बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था र बीमितलाई सहभुक्तानी प्रणाली कार्यान्वयन गर्न अपिल गरेको छ ।
बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी र पुनस्र्थाथापना सेवामा १० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । सरकारले निःशुल्क प्रदान गर्ने उपचारमा र आकस्मिक सेवामा भने विरामीले कुनै शुल्क तिनुपर्ने छैन । यसैगरी, प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्यासम्मका सरकारी अस्पतालमा पनि सहभुक्तानी लागू नहुने बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा हाल ५ जनासम्म सदस्य रहेको परिवारले ३ हजार ५०० रुपैयाँ प्रिमियम तिर्दा वार्षिक १ लाख रुपैयाँसम्मको उपचार पाउने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएको परिवारका लागि प्रति सदस्य योगदान रकम ७०० रुपैयाँ छ। त्यसबापत उपचार रकमको सीमा पनि २० हजार रुपैयाँको दरले थपिँदै जान्छ।
तर, बोर्डले अब स्वास्थ्य बीमा कार्यक्रमको योगदान रकमको पुनरावलोकन गरी सुविधाको दायरा बढाउने भएको छ।
अहिले रहेको सुविधा थैलीको औषधिको शुल्क पुनरावलोकन गर्ने काम एक महिनामा सकेर लागू गर्ने बोर्डले जनाएको छ। त्यस्तै, स्वास्थ्य मन्त्रालयमार्फत संचालित विपन्न नागरिक उपचार कोष लगायत स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत गरेर बीमामार्फत व्यवस्थापन गर्ने योजना अघि बढाइएको बोर्डको भनाइ छ ।
अर्थ चाैतारी ।