काठमाण्डौ । देशमै भरपर्दो रोजगारी व्यवस्था नभएपछि बैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढदै गएको छ । गएको साउनदेखि पुससम्मका ६ महिनामा ३ लाख ४३ हजार ४ सय ५ जना नेपाली बैदेशिक रोजगारीमा गएका छन् ।
बैदेशिक रोजगार विभागका अनुसार साउनमा ५५ हजार ५ सय ७५ जना र पुसमा ६५ हजार ८ सय १३ नेपालीले विदेशिएका छन् । पुसमा जारी श्रम स्वीकृति पोहोरको पुसको तुलनामा समेत धेरै हो । अघिल्लो वर्ष पुसमा ६५ हजार ४ सय ६४ नेपाली विदेशिएका थिए ।
पुसमा विदेशिनेमध्ये ६ हजार ८४ जना महिला रहेका छन् । यो महिना नयाँ श्रम स्वीकृतिमा ३४ हजार ४ सय १५ र पुनः श्रम स्वीकृतिमा ३१ हजार ३ सय ९८ विदेशिएका छन् । विदेशिएका नेपालीले प्रमुख श्रम गन्तव्य भने यूएई देखिएको छ ।
विभागका अनुसार ६ महिनामा ८४ हजार ८५५ नेपाली श्रम स्वीकृती लिएर यूएई पुगेका हुन् । मङ्सिरमा १८ हजार ४९३ र पुसमा १६ हजार ३८५ नागरिक यूएई पुगेका छन् । दोस्रोमा भने साउदी अरब रहेको छ । केही वर्ष अघिसम्म प्रमुख श्रम गन्तव्य रहेको मलेसिया जाने नेपालीको सङ्ख्या भने पुसमा घटेर ८ हजार ९१ मा झरेको छ ।
यस्तै युद्धग्रस्त देश इजरायल जान पनि साउनयता ३ सय १७ नेपालीले श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ । यस्तै रूस र युक्रेनबिचको युद्धका कारण ती दुवै देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाउनु अघि पुस महिनामा २ जना नेपालीले रुसका लागि श्रम स्वीकृति लिएको देखिएको छ । एक जनाले व्यक्तिगत श्रम स्वीकृति र एक जनाले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
source: https://dofe.gov.np/monthly.aspx
अर्थ चाैतारी ।