काठमाण्डौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो ।
नगरपालिकाको कोषबाट तलब, भत्ता लगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने नीति तथा कार्यक्रममा तय गरिएको नगरप्रमुख बिमला अर्यालले बताइन् । आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिए अनुसार सुविधा लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका लागि उक्त नीति कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।
उनले भनिन, यस नीतिले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधार हुनेछ । सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्षदेखि उक्त अभियान सञ्चालन गरेको थियो ।
पालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन् । यसमध्ये तीन विद्यालयलाई नगरपालिकाले अनुमति दिएर सञ्चालन भइरहेका छन् । गुरुकुल विद्यालय, मदरसा र लुम्बिनी समाता महिला विद्यालय पालिकाको अनुमतिमा सञ्चालन भएका नगरप्रमुख अर्यालले जानकारी दिइन् ।
अर्थ चाैतारी ।