काठमाण्डौ । मंगलबार प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसँगै तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।
तत्कालीन सेञ्चुरी बैंकले कमजोर धितोमा ऋणीलाई ऋण प्रवाह गरेको र सो ऋण अहिले असुल हुन नसकेपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् । प्रभु बैंकले सेञ्चुरी बैंकको उक्त कर्जा असुल गर्नका लागि पटक-पटक ताकेता र धितो समेत लिलाम गर्नका लागि सूचना जारी गरे पनि धितोको मूल्याङ्कन कर्जाभन्दा कम भएपछि सो धितो बिक्री हुन सकेको छैन । सोही विषयमा न्यौपाने र गौतमसहितका बैंकरहरू पक्राउ परेको बैंक उच्च स्रोतको भनाइ छ ।
तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई सवा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । बैंकले चौलागाईं र उनका परिवारको लगानीका चार वटा कम्पनीलाई २ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको थियो । उनले देउराली सहकारी देखाएर बैंकर न्यौपाने सहितलाई प्रलोभनमा राखेर ऋण लिएका थिए । धितोको मूल्याङ्कन कर्जा रकमभन्दा कम मूल्यको थियो । यो प्रक्रियामा तत्कालीन सेञ्चुरी बैंकका सीईओ गौतम र न्यौपानेसहित अन्य बैंकरको पनि संलग्नता रहेको आशंका गरिएको छ । यस कर्जालाई लिएर एक महिनाअघि नेपाल राष्ट्र बैंकले प्रभु बैंकमा स्थलगत रूपमा विशेष अनुगमन गरेको थियो । राष्ट्र बैंकको सिफारिसमा सीआईबीले बैंकरहरूलाई पक्राउ गरेको हो ।
चौलागाईंले बैंकबाट पूजा मार्केटिङ प्रा.लि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रा.लि, श्री श्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रा.लि र परिवारका सदस्यहरूको नाममा सो ऋण लिएका थिए । तर, उनले कर्जा लिएको लामो समय बितिसक्दा पनि ऋण तिरेनन् । समयमा नै कर्जा भुक्तानी नगरेपछि अहिले प्रभु बैंकले चौलागाईको नाममा रहेको ललितपुर जिल्ला साबिकको सैबु गाविस-४मा रहेको कित्ता नम्बर १३०९ को ४ आना, कित्ता नम्बर १३१४ को ४ आना र कित्ता नम्बर १३१६ को ४ आना जग्गा र जग्गामा रहेको घर लिलामी गन सूचना जारी गरेको थियो ।
यस्तै, रवीन्द्र चौलागाईको नाममा झापा जिल्ला तत्कालीन शिवगञ्ज गाविस–७ मा रहेको कित्ता नम्बर क्रमशः २२७४ १०१६७ १०१८९, १०१९०, १७८४११५९९९, २१७८४३ को क्षेत्रफल क्रमशः ६ बिघा, १० बिघा, १५ बिघा ११ कट्ठा, ११ बिघा १७ कट्ठा, ७ बिघा १६ कट्ठा ५० धुर, १ बिघा १२.५ कट्ठा र ७ बिघा १४ कट्ठा जग्गा र उक्त जग्गामा रहेको घर लिलाम गर्ने सूचना पनि सार्वजनिक गरेको थियो । यस्तै, अन्य ठाउँमा रहेका जग्गा तथा सम्पत्ति पनि बैंकले लिलामका लागि राखेको थियो ।
प्रभु बैंकले तीन पटक धितो लिलामीको सूचना जारी गर्दा पनि सम्पत्ति बिक्री हुन सकेको थिएन । बैंक स्रोतका अनुसार धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य कर्जाको तुलनामा आधा पनि छैन । अहिले चौलागाईं सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा यसअघि नै पक्राउ परिसकेका छन्। सहकारीमा सर्वसाधारणले बचत गरेको ३ अर्ब रुपैयाँ फिर्ता गर्न नसकेको आरोपमा उनलाई पक्राउ गरेको थियो ।
चौलागाईंको ४ बैंकमा ३ अर्ब ६८ करोड ऋण
सहकारीका बचतकर्ताको तीन अर्ब रुपैयाँ रुपैयाँ हिनामिना गरेको मुद्दामा अहिले हिरासतमा रहेका रवीन्द्र चौलागाईंले विभिन्न बैंकसँग साढे ३ अर्ब बढी ऋण लिएको भेटिएको छ । देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनले आफ्ना विभिन्न कम्पनीहरूका लागि सहकारीको आडमा चार वटा वाणिज्य बैंकबाट तीन अर्ब ६८ करोड रुपैयाँ ऋण लिएको भेटिएको हो ।
स्रोतका अनुसार उनले सबैभन्दा बढी ऋण प्रभु बैंक (तत्कालीन सेञ्चुरी कमर्सियल) बाट लिएको देखिएको छ । उनले यस बैंकबाट २ अर्ब ४० करोड रुपैयाँ ऋण लिएका छन्। सोही ऋणले अहिले तत्कालीन सेञ्चुरी बैंकमा कार्यरत कर्मचारीको हातमा हतकडी समेत लागेको छ । त्यस्तै चौलागाईंले तत्कालीन मेगा र हालको नेपाल इन्भेस्टमेन्ट बैंकबाट पनि ७० करोड रुपैयाँ ऋण लिएका छन् ।
यस्तै, उनले एनआईसी एसिया बैंकबाट पनि ४० करोड, माछापुच्छ्रे बैंकबाट १८ करोड, सिटिजन्स बैंकबाट २५ करोड रुपैयाँ ऋण लिएको भेटिएको छ । मंगलबारकाे घटना पछि अन्य बैंक पनि सशंकित भएका छन्।
अर्थ चाैतारी ।