images

कृषि तथा पशुपन्छी उत्पादनतर्फ जोन र सुपरजोन घोषणा

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तथा पशुपन्छी उत्पादनतर्फ केही जोनलाई सुपरजोनमा स्तरोन्नति गरेको छ । यस्तै केही जोन घोषणा गरिएको छ । परियोजना अन्तर्गत ६ वटा जोनहरूलाई ५ वटा सुपरजोनमा स्तरोन्नति भएको हो ।

भोजपुर अलैँची जोन र संखुवासभा अलैँची जोनलाई अलैँची सुपरजोन स्तरोन्नति भएको छ । यस्तै, मोरङ धान जोनलाई धान सुपरजोन, सर्लाही मकै जोनलाई मकै सुपरजोन, चितवन केरा जोनलाई केरा सुपरजोन र नवलपरासी वर्दघाट सुस्ता पूर्व तरकारी जोनलाई तरकारी सुपरजोनमा स्तरोन्नति गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

images

 

कृषि मन्त्री ज्वाला कुमारी साहको नेतृत्वमा गत चैत २१ गते बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना निर्देशक समिति बैठकले सो ६ वटा जोनहरूलाई ५ वटा सुपरजोनमा स्तरोन्नति गर्न सिफारिस गरेको हो । स्वीकृत परियोजनाले तीन सय वटा जोन बनाउने प्रस्ताव गरेको थियो ।

 

सो प्रस्तावलाई २०७३ पुस २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत पनि गरेको थियो । २०७७ साल असोज १ गते मन्त्रीस्तरीय निर्णयबाट मापदण्ड पूरा गरेकालाई जोन घोषणा गर्ने निर्णय भएको थियो । प्राविधिक समिति, जिल्ला तथा प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिले ६५ वटा जोन बनाउने सिफारिस गरेको थियो । त्यसमध्ये परियोजनामा गठित अध्ययन तथा छनोट समितिले ३५ वटा जोन विकास गर्ने निर्णय गरेको छ ।

 

परियोजनाको बैठकले पाँचथर, अर्घाखाँची र सल्यानलाई सुन्तला, इलाम र बागलुङलाई अलैँची, महोत्तरी, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट सुस्तापूर्व) लाई धान, उदयपुर, दाङ र धादिङलाई बाख्रा, सर्लाही, दैलेख, डोटी, बाँके, धनुषा र नुवाकोटलाई तरकारी जोनका रूपमा घोषणा गरेको छ ।

 

झापालाई तरकारी र माछा, रौतहट, कैलाली र चितवनलाई माछा, मोरङलाई मौरी, बारालाई केरा र तरकारी, सिराहा, बर्दिया र कास्कीलाई गाईभैँसी, पर्सालाई माछा जोनका रूपमा घोषणा गरेको छ । त्यस्तै मुस्ताङ, रुपन्देही र जुम्लालाई आलु, रुकुम पश्चिमलाई ओखर, जाजरकोटलाई दलहन, प्युठानलाई अदुवा, बेसार जोनका रूपमा घोषणा गरेको छ ।

images