काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । सेवा सहजताका लागि हिजोदेखि बिहान एक घण्टा अगाडि कार्यालय सञ्चालन थालेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बेलुकाको समय भने परिवर्तन नभएको उनले बताए ।
यो सेवा महानगरका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ । थप समयमा काम गर्नका लागि कर्मचारीलाई प्रोत्साहन गर्न ‘काठमाण्डौ महानगरपालिका कर्मचारी सेवा सुविधासम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।
बिहान आफ्नो कार्यालय जानुअघि महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयबाट सेवा प्राप्त सजिलो होस् भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।
अर्थ चाैतारी ।