images

वीरगञ्जस्थित नबिल बैंकबाट मध्यरातमा डेढ करोड रुपैयाँ चोरी

काठमाण्डाै । नबिल बैंकबाट मध्यरात डेढ करोड रुपैयाँ चोरी भएको छ । वीरगञ्जस्थित उक्त बैंकमा गएराति चोरी भएको हो ।

चोर पहिले सिसिटीभीको तार काटेर ढुक्कसँग छिरेको स्रोतले बताएको छ । त्यसपछि वेल्डिङ्ग मेसिनले फलाम काट्दै भित्र पसेर रकम राख्ने भल्ट (ढुकुटी) को ढोका फोरेको बिहान देखिएको थियो ।

images

खर्च कटौतीको नाममा पछिल्लो समय दिउँसो एक जना मात्रै गार्ड राख्ने गरिएकोमा राति सुरक्षाकर्मी नभएको मौका पारेर बैंक फोरिएको घटनाक्रमले पुष्टि गरेको छ । आन्तरिक सुरक्षाको अभावका कारण बैंकको ढुकुटीमा डकैती भएको कर्मचारीहरु पनि बताउँछन् ।

 

सिइओ र उच्च तहका कर्मचारीले वर्षको करोडौं तलब,भत्ता र सुविधा बुझ्ने तर खर्च कटौतीका नाममा गार्ड,पियन र ड्राइभर कटौती गरिनुको परिणाम नबिल बैंकको वीरगञ्ज शाखामा देखिएको भन्दै कर्मचारीहरु आक्रोशित छन् । नाम नबताउने शर्तमा एक जना कर्मचारीले बताए,‘मध्यरात सबै काम सकाएर झण्डै डेढ करोड लगेको देखिन्छ । सानेपास्थित सिजी ग्रुपको कार्यालयमा जस्तै आवश्यक प्रविधि र सुरक्षाकर्मी राखेको भए यस्तो अवस्था आउँदैनथ्यो ।’

 

प्रहरीले पनि बैंकमा सुरक्षाकर्मी, पर्याप्त सिसिटिभी र अलार्म प्रणाली जडान नगरिएको बताएको छ । जनआस्थासँगको कुराकानीमा पर्सा प्रहरीले अनुसन्धान जारी रहेकाले थप जानकारी दिन आनकानी गर्यो । स्मरण रहोस्, नबिल बैंकमा विवादास्पद विनोद चौधरी र उनको परिवारको सबैभन्दा धेरै सेयर लगानी छ । उनका जेठा छोरा निर्वाण सञ्चालक छन् ।

images