images

बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घट्यो

काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण घटेको देखिन्छ । पुँजी बजारमा बैंकहरूको सेयर मूल्यका आधारमा लगानीकर्ताको आकर्षण घटेको देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का १३ वटा उपसमूहमध्ये बैंकिङ समूहमा कुनै समय लगानीकर्ताको आकर्षण हुन्थ्यो । तर, पछिल्ला दिनहरूमा भने पहिलाको जस्तो चाम देखिँदैन ।

नेप्सेको पछिल्लो तथ्याङ्क अनुसार बैंकहरूको सेयर मूल्य आईपीओको मूल्य सरह खस्किएको देखिन्छ । नेप्सेमा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । जसमध्ये ११ वटा बैंकको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कममा कारोबार भइरहेको नेप्सेको तथ्याङ्क छ । कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंक, नेपाल बैंक र ग्लोबल आईएमई बैंकको सेयर प्रतिकित्ता सेयर रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेका छन् ।

images

 

नेप्सेमा सूचीकृत बैंकहरूमध्ये ३ वटा बैंकको सेयर मूल्य १५० रुपैयाँ भन्दा पनि कममा कारोबार भइरहेको छ । सबैभन्दा कम मूल्यमा कुमारी बैंकको सेयर कारोबार भइरहेको छ । २६ अर्ब २२ करोड रुपैयाँ पुँजी भएको यस बैंकको सेयर मूल्य हाल प्रतिकित्ता १३३ रुपैयाँमा कारोबार भएको छ । जबकी बैंकको बजार पुँजीकरण ३४ अर्ब ८८ करोड रुपैयाँ मात्रै छ । साथै, एक वर्षको अवधिमा बैंकको सेयर अधिकतम प्रतिकत्ता १९५.८० रुपैयाँ पुगेको थियो भने न्यूनतम १३१ रुपैयाँमा झरेको थियो ।

 

प्रभु बैंकको सेयर पनि १५० रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भइरहेको छ । यस बैंकको सेयर प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ । बैंकको सेयर मूल्य र पुँजीलाई आधार मान्दा ३२ अर्ब २७ करोड रुपैयाँ मात्रै बजार पुँजीकरण छ ।

 

त्यस्तै १५० रुपैयाँभन्दा कम मूल्यमा लक्ष्मी सनराइज बैंकको सेयर पनि कारोबार भइरहेको छ । २३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सेयर प्रतिकित्ता १४७ रुपैयाँमा बारोबार भइरहेको छ । यस आधारमा बैंकको बजार पुँजीकरण ३४ अर्ब १३ करोड रुपैयाँ छ । ५२ हप्ताको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता २०८ रुपैयाँ पुगेको थियो भने न्यूनतम १४५ रुपैयाँसम्म झरेको थियो ।

 

यस्तै, सबैभन्दा धेरै पुँजी भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर प्रतिकित्ता १५२ रुपैयाँमा बारोबार भइरहेको छ । ३४ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको बजार पुँजीकरण ५२ अर्ब १४ करोड रुपैयाँ छ । एक वर्षको अवधिमा बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता २१७ रुपैयाँ पुगेको थियो भने न्यूनमत १५० रुपैयाँमा कारोबार भएको थियो । सिटिजन्स बैंकको सेयर बिहीबार प्रतिकित्ता १५५ रुपैयाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता २०७.८० रुपैयाँसम्म सेयर मूल्य पुगेको बैंकको न्यूनमत मूल्य भने प्रतिकित्ता १५३ रुपैयाँमा कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाएको छ । १४ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको बजार पुँजीकरण २२ अर्ब ८ करोड रुपैयाँ छ ।

 

माछापुच्छ्रे बैंकको सेयर प्रतिकित्ता १६६.३० रुपैयाँमा कारोबार भइरहेको छ । ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सेयर मूल्य ५२ हप्तामा अधिकतम प्रतिकित्ता २८३ रुपैयाँ र न्यूनतम प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, एनएमबी बैंक सेयर प्रतिकित्ता १७३ रुपैयाँ, हिमालय बैंकको प्रतिकित्ता १७६ रुपैयाँ, प्राइम बैंकको सेयर १९३ रुपैयाँमा करोबार भइरहेको छ । नेपाल बैंकको सेयर मूल्य भने प्रतिकित्ता २ सय रुपैयाँ रहेको छ ।

images