काठमाण्डौ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको बयान तेस्रो दिनमा सकिएको छ।
कालीमाटी मुख्य कार्यालय राखेर काठमाण्डौका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग प्रहरीले गएको शुक्रबारदेखि सोमबारसम्म तीन दिन बयान लिएको हो।
बयान सकिएकाले अब उनलाई पोखरा नै पठाइने काठमाण्डौ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले नेपालखबरलाई जानकारी दिए। रजौरेले भने, ‘बयान सकिएको छ। अझै पनि केही अनुसन्धान गर्नुपर्ने विषय छ कि भनेर हामी हेर्दै छौँ। भोलि (मंगलबार) सम्म पोखरा पठाउन सकिनेछ।’
रविलाई गत बिहीबार (मंसिर १३ गते) पोखराबाट काठमाण्डौ झिकाइएको थियो। कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरी पोखरा लगिएका रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका क्रममा उनको बयान भइसकेको छ। सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट रुपन्देहीको भैरहवासमेत लगिएको थियो। अब उनलाई सहारा सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन पनि लैजाने तयारी छ।
अर्थ चाैतारी ।