काठमाण्डौ । सरकारले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन नीति, २०८२ जारी गरेको छ। पर्यटन नीति, २०६५ लाई विस्थापित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ नीति सार्वजनिक गरेको हो।
नयाँ नीतिमा राजधानी बाहिरका विमानस्थलहरूलाई क्षेत्रीय हबको रूपमा विकास, अन्तरदेशीय उडानको प्रवर्द्धन, रात्रिकालीन आन्तरिक उडान, र अनलाइन भिसा प्रणाली लगायतका महत्त्वपूर्ण प्रावधानहरू समावेश गरिएको छ।
सरकारले पर्यटकहरूको आवागमनलाई सहज बनाउन अनलाइन भिसा प्रणाली कार्यान्वयन गर्ने, स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकका लागि मुख्य नाकाहरूमा एकीकृत पर्यटन सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।
पर्यटन नीति अनुसार गुणस्तरीय हवाई सेवा, पदयात्रा मार्गको स्तरोन्नति, होमस्टे प्रवर्द्धन, र पर्यटक सहायता केन्द्रको स्थापना गरिनेछ। साथै, पर्यटक प्रहरी परिचालन गरी २४ घण्टा हेल्पलाइन सेवा सुरु गरिने उल्लेख छ।
नयाँ नीतिले बुढ्यौली (senior citizen) पर्यटन, माइस (MICE) पर्यटन, शैक्षिक भ्रमण, र स्थानीय संस्कृति तथा रैथाने खानाको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको छ।
सरकारले पर्यटन क्षेत्रको तथ्यांक संकलन तथा विश्लेषणका लागि एक वर्षभित्र “टुरिजम स्याटेलाइट एकाउन्ट” तयार गर्ने पनि जनाएको छ।
त्यस्तै, खेल पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रको संलग्नता, र पर्यावरणमैत्री पर्यटन विकासका विषयलाई पनि नीति अन्तर्गत प्राथमिकता दिइएको छ।
पर्यटन उद्योगलाई उद्योगसरह सेवा सुविधा दिइने नीति अनुसार, नवप्रवर्तनमा आधारित युवा स्वरोजगार कार्यक्रमहरू, फन पार्क, मनोरञ्जन क्षेत्र, अग्ला टाकुरा लगायत पर्यटकीय वस्तुको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।
पर्यटन नीति २०८२ ले पर्यटन क्षेत्रको रूपान्तरण गर्दै आर्थिक विकास, रोजगारी सिर्जना र स्थानीय सहभागिता वृद्धि गर्ने अपेक्षा गरिएको छ।
अर्थ चाैतारी ।