काठमाण्डौ । अब सवारी दर्ता, नामसारी वा नवीकरण गर्न इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने भएको छ। सरकारको निर्णयअनुसार यो नियम देशभर असोज १ गतेदेखि लागू हुनेछ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशमन्त्री र सचिव सहभागी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले असोज १ गतेदेखि सबै प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूबाट हुने सवारीसम्बन्धी काममा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ।
यस नियमलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी परिचालन गरिने र गृह मन्त्रालयसँग समन्वय गरिनेछ। प्राविधिक सहयोग विभागले आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराउनेछ।
सरकारले यस कदमलाई सवारी साधनको पहिचान, सुरक्षा र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाएको जनाएको छ।
अर्थ चाैतारी ।