logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सोपान फर्मास्युटिकल्सको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित

    सोपान फर्मास्युटिकल्सको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित

    780
    SHARES
    सोपान फर्मास्युटिकल्सको साधारणसभा सम्पन्न, आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित

    काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको १६ औं साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. अनिल पोखरेलको अध्यक्षतामा आइतबार साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नुको साथै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।



     

    त्यस्तै आ.व. २०८२/०८३ को बाहय लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गरेको छ। विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

     

    साधारणसभामा कम्पनीका अध्यक्ष डा. पोखरेलले आफ्नो उद्योगबाट त्यस्तो उच्चतम गुणस्तरको औषधि उत्पादन होस्, जसलाई कुनै पनि चिकित्सकले ढुक्क भएर आफ्ना बिरामीलाई प्रिस्क्राइब गर्न सकोस् भन्ने आफ्नो चाहना रहेको बताए ।एक चिकित्सकको हैसियतमा सधैँ बिरामीलाई उच्चतम गुणस्तरको औषधि प्रिस्क्राइब गर्नु पेशागत धर्म रहेको उल्लेख गरे। आफुले प्रिस्क्राइब गरेको औषधिले बिरामी छिटो निको होस् भन्ने चाहना स्वाभाविक रूपमा हुने तर कहिलेकाहीँ नेपाली औषधिको गुणस्तरमा पूर्ण भरोसा गर्न नसक्दा विदेशी औषधि प्रिस्क्राइब गर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।

     

     

    कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ७७ लाख ९१ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनी ८ करोड २६ लाख घाटामा थियो। कम्पनीको प्रति शेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा रहेको छ। १ अर्ब २८ करोड ७० लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३२ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीको शेयर प्रिमियममा १ करोड ३ लाख रुपैयाँ रहेको छ।

     

     

    आयातमा निर्भर नेपाली औषधि बजारको माग पूरा गर्न उच्च गुणस्तरीय औषधि उत्पादन र यसको सर्वसुलभ आपूर्ति सुनिश्चित गर्ने, विदेशी मुलुकहरूमा औषधि निर्यात गर्ने तथा व्यापार घाटा घटाई देशको अर्थतन्त्रमा सम्मानजनक योगदान पुऱ्याउने उद्देश्यसहित स्थापना भएको सोपान फर्मास्युटिकल्स लिमिटेडले विक्रम संवत् २०७४ सालमा भौतिक पूर्वाधार निर्माण कार्यको सुरुआत गरेको थियो । कम्पनीले विक्रम संवत् २०७८ सालमा पायलट स्केलमा उत्पादन र product launching सम्पन्न गरी २०७९ सालदेखि व्यावसायिक उत्पादन तथा बिक्री-वितरण कार्यको प्रारम्भ गरेको हो।

     

     

    सोपान फर्मास्युटिकल्सले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा २१ रोपनी ९ आना क्षेत्रफलमा उद्योग सञ्चालन गरिरहेको छ । उद्योग परिसरभित्र औषधि उत्पादनअन्तर्गत दुईवटा विशाल ब्लकहरू रहेका छन् भने मेडिकल अक्सिजन ग्यास प्लान्ट पनि अलग्गै रहेको छ । औषधि उत्पादन अन्तर्गत अत्याधुनिक State-of-the-Art Technology जडित ५१, ६५४ वर्ग फिटको नन- बेटा – लाक्टम ब्लक र ३५,७०५ वर्ग फिटको सेफलोस्पोरिन ब्लक रहेको छ । नन–बेटा–लाक्टम ब्लकअन्तर्गत ट्याब्लेट, क्याप्सुल, मल्हम र लिक्विड सेक्शनहरू रहेका छन् भने सेफलोस्पोरिन ब्लकअन्तर्गत ट्याब्लेट, क्याप्सुल र ड्राइ सिरप सेक्शनहरू रहेका छन्।

     

     

    कम्पनीका अनुसार अत्याधुनिक प्रविधि जडित यस औषधि उद्योगलाई Single शिफ्ट, अर्थात् प्रतिदिन ८ घण्टा र वर्षमा ३०० दिन मात्र सञ्चालन गर्ने हो भने पनि वार्षिक रूपमा ८४ करोड ट्याब्लेट, ९ करोड ६० लाख क्याप्सुल, ३ लाख लिटर लिक्विड, ३० लाख बोतल ड्राइ पाउडर र २४ लाख ट्युब मल्हम उत्पादन हुन सक्छ । माग बढ्दै जाँदा हालको संयन्त्रबाटै उक्त उत्पादन क्षमता दोब्बर गर्न सकिने अवस्था समेत रहेको छ । हालको कुल बजारको आकारलाई आधार मान्दा, यस उद्योगको उत्पादन क्षमताले करिब १६ प्रतिशत बजार हिस्सा ओगट्ने सामर्थ्य राख्दछ ।

     

     

    त्यस्तै गरी, यस उद्योगअन्तर्गत १०,००० वर्ग फिटमा निर्मित भवनमा ३०० घन मिटर प्रति घण्टा उत्पादन क्षमता रहेको अक्सिजन ग्यास प्लान्ट सञ्चालनमा छ । यसमार्फत सिलिन्डरमा १५०० लिटर र ७००० लिटर अक्सिजन ग्यास तथा १० लिटरको पोर्टेबल क्यान अक्सिजनको उत्पादन र बिक्री-वितरण गर्दै आएको छ । १९० भन्दा बढी औषधिहरूको फर्मुलेशन एण्ड डेभलपमेन्ट मा सफलता हासिल गरिसकेको यस कम्पनीले १३६ वटा औषधिहरूको उत्पादन अनुमतिपत्र र ९२ वटा औषधिहरूको बजार अनुमतिपत्र प्राप्त गरिसकेको छ भने अझ धेरै औषधि पाइपलाइनमा रहेका छन् ।

     

    कम्पनीले विदेशी औषधि कम्पनीहरूसँग प्राविधिक सहकार्य गर्ने योजनाअनुरूप भारतको एक प्रतिष्ठित कम्पनीसँगको सहकार्यमा युरोलोजीसम्बन्धी १० वटा औषधिहरूको अनुसन्धान तथा विकास कार्य सम्पन्न गरी औषधि व्यवस्था विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । यी औषधिहरुलाई आगामी त्रैमासमा बजारमा पुऱ्याउने लक्ष्य राखिएको छ । कम्पनीले २१ वटा कार्डियो र डाइबेटिक औषधिहरूको उत्पादन अनुमतिपत्र पनि प्राप्त गरिसकेको छ भने आगामी त्रैमासमा यी औषधिहरू समेत बजारमा पुऱ्याउने योजना बनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट