झापा । यही असोज १८ देखि २० गतेसम्म लगातार परेको अविरल वर्षापछि आएको बाढीले झापाको कृषिक्षेत्रमा ठूलो विनाश मच्चाएको छ। बाढीले ४६३ दशमलव ४२ हेक्टर जमिनमा लगाइएको धान, आलु र केरा नष्ट भएको छ । जसको मूल्य करिब पाँच करोड ७५ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार, यो बाढीबाट ७०३ किसानको १,६४४ मेट्रिक टन धान नष्ट भएको छ। “धानमा क्षतिको मात्रा अत्यधिक छ, अरु बालीमा पनि केही हदसम्म असर परेको छ,” उनले बताए। उनका अनुसार पाक्न लागेको धान बगाउँदा किसानहरू आर्थिक संकटमा परेका छन्।
वर्षासँगै कनकाई र विरिङ नदीमा आएको बाढीले धान खेतहरू बगाएको हो। विशेष गरी गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकामा बाढीले व्यापक क्षति पुर्याएको छ।
प्रमुख विष्टका अनुसार, बाढीले पाँच हजार १२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा रहेका विभिन्न कृषिजन्य वस्तुमा असर पुर्याएको छ। तीमध्ये झापा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ। सो पालिकाका वडा नं. १, २ र ३ का मात्र ४३१ किसानको पाँच करोड १४ लाख रुपैयाँ बराबरको धान, आलु र केरा बगाएको विवरण छ।
स्थानीय किसानहरू भन्छन्—“पाकिसकेको धान बगाउँदा यस वर्षको पूरै मिहिनेत पानीमा गयो।” केही किसानले घरपालुवा जनावर र खेतीका उपकरण समेत बाढीले बगाएको बताए।
कृषि ज्ञान केन्द्रका अनुसार, बाढीले लगानी मात्रै होइन, आगामी सिजनको धान बीउ संकलन चक्र पनि अवरुद्ध गरेको छ। यसले आगामी वर्षको उत्पादनमा पनि असर पार्ने अनुमान गरिएको छ।
स्थानीय प्रशासनले क्षति मूल्याङ्कन र राहत वितरणका लागि पहल सुरु गरेको जनाएको छ। तर किसानहरू भन्छन्, “साँच्चै राहतभन्दा पुनःस्थापनाका कार्यक्रम आवश्यक छन्, नत्र ऋण र मिहिनेत दुबै डुब्नेछन्।”
अर्थ चौतारी ।