logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अघि बढ्यो मेची–महाकाली विद्युतीय रेलमार्गः पाँच जिल्लाका बासिन्दासँग मागियो रायसुझाव

    अघि बढ्यो मेची–महाकाली विद्युतीय रेलमार्गः पाँच जिल्लाका बासिन्दासँग मागियो रायसुझाव

    624
    SHARES
    अघि बढ्यो मेची–महाकाली विद्युतीय रेलमार्गः पाँच जिल्लाका बासिन्दासँग मागियो रायसुझाव

    काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाको ‘बर्दिबास–इनरुवा खण्ड’ को वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन परिमार्जनका लागि सार्वजनिक सूचना जारी गर्दै सरोकारवालाहरूसँग रायसुझाव माग गरेको छ ।



    रेल विभागअन्तर्गतको रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाले सूचना प्रकाशित गर्दै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारी गर्ने क्रममा उक्त क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा के-कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा यकिन गरी स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला व्यक्तिबाट ७ दिनभित्र लिखित रायसुझाव माग गरेको हो ।

    आयोजनाले सूचना प्रकाशित गर्दै मेची–महाकाली विद्युतीय रेलमार्गको बर्दिबास–इनरुवा खण्डको करिब १३९.४२ किलोमिटर रेलमार्ग निर्माण तथा सञ्चालनसम्बन्धी प्रस्ताव कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत ईआईएसम्बन्धी सूचना जारी भएको हो । रेल विभागका सूचना अधिकारी बोध भण्डारीका अनुसार यसअन्तर्गत मधेश प्रदेशका महोत्तरी, धनुषा, सिराहा र सप्तरी तथा कोशी प्रदेशको सुनसरी जिल्ला भएर जाने रेलमार्ग प्रतिघन्टा २०० किलोमिटरको गतिमा गुड्न सक्ने गरी डिजाइन गरिएको छ । यो आयोजनाका लागि ५० मिटरको ‘राइट अफ वे’ (अधिकार क्षेत्र) प्रस्ताव गरिएको छ ।

    यो रेलमार्गको बर्दिबास–इनरुवा खण्ड (१३९.४२ किलोमिटर) को वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अध्ययन प्रतिवेदन स्वीकृतिको अन्तिम चरणमा पुगेको छ । भण्डारीका अनुसार धनुषाको मिथिला नगरपालिका, ढल्केवर, सिराहाको लाहान र सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक सुनुवाइसमेत सम्पन्न भइसकेको छ । पछिल्लो समयमा कोभिड महामारीका साथै ऐन-नियममा भएको परिवर्तनका कारण प्रतिवेदन स्वीकृतिमा ढिलो भएको स्वीकार्दै विभागले उक्त प्रतिवेदनलाई अद्यावधिक गरी परिमार्जित प्रतिवेदन स्वीकृतिका लागि ईआईएसम्बन्धी सूचना जारी गरेको हो ।

    बर्दिबास–इनरुवा खण्डमा महोत्तरीको बर्दिबास, धनुषाको मिथिला, छिरेश्वरनाथ, धनुषाधाम, गणेशमान चारनाथ र शहीदनगर, सिराहाको कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई, लहान तथा नरहा गाउँपालिका, सप्तरीको सुरुङ्गा, खडक, शम्भुनाथ, डाक्नेश्वर, राजविराज, हनुमाननगर कंकालिनी, कञ्चनरुप, रुपनी, महादेवा र तिरहुत तथा सुनसरीको कोशी, भोक्राहा र नरसिंह गाउँपालिका प्रभावित हुने जारी सूचनामा उल्लेख छ ।

    उनका अनुसार हालसम्म काँकडभिट्टा–इनरुवा खण्डको ईआईए प्रतिवेदन स्वीकृत भइसकेको छ भने इनरुवा–बर्दिबासको ईआईए प्रतिवेदन स्वीकृत गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यस्तै बर्दिबास–चोचा (रौतहट) खण्डमा ईआईए स्वीकृत भएर निर्माण कार्य जारी छ । त्यसैगरी चोचा–रतनपुर (बारा) खण्ड ईआईए प्रक्रियाको क्रममा छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट