काठमाण्डौ । नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले त्यहाँ कामदार पठाउने नेपाली म्यानपावर कम्पनीहरूको संख्या घटाउने नयाँ व्यवस्था लागू गरेको छ।
मलेसियाले १० बुँदे कडा मापदण्ड तोकेर केवल योग्य म्यानपावर कम्पनीहरूलाई अनुमति दिने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार, म्यानपावर कम्पनीहरूले तय गरिएको मापदण्ड पूरा गरी सूची तयार गरी नेपाल सरकारमार्फत मलेसियामा पेश गर्नुपर्नेछ।
मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पठाएको कूटनीतिक नोटमा यस सम्बन्धमा औपचारिक जानकारी दिएको छ। नोट अनुसार, मलेसियाले नेपालबाट कामदार भर्ना र स्थानान्तरण प्रक्रियालाई सहजीकरण गर्ने अनुमति प्राप्त निजी भर्ना एजेन्सीहरूको संख्या तर्कसंगत र सीमित बनाउने निर्णय गरेको छ।
यो प्रक्रिया मलेसियाको मानव संसाधन मन्त्रालयद्वारा वस्तुनिष्ठ र योग्यतामा आधारित छनोट मार्फत कार्यान्वयन हुनेछ। नेपाल सरकारले तोकिएका १० अनिवार्य मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीहरूको सूची सन् २०२५ नोभेम्बर १५ भित्र मलेसियाको मानव संसाधन मन्त्रालयमा पेश गर्नुपर्नेछ।
पत्रमा स्पष्ट रूपमा भनिएको छ, “अपूर्ण आवेदन वा तोकिएका मापदण्ड पूरा नगर्ने कम्पनीहरूलाई छनोट प्रक्रियामा समावेश गरिने छैन।”
विशेषज्ञहरूले यो निर्णयले वैदेशिक रोजगार क्षेत्रमा ठूलो प्रभाव पर्ने र केही विश्लेषकहरूले यसलाई नेपाली म्यानपावर क्षेत्रमा व्यावसायिक सिन्डिकेट नियन्त्रणको रूपमै हेरिएको बताउँछन्। मलेसिया सरकारले यस नीतिमार्फत दुई देशबीचको श्रम आप्रवासनलाई थप रचनात्मक, नैतिक र सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
अर्थ चौतारी ।