काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। बैंकले स्थापनादेखि आजसम्मको यात्रालाई गौरवपूर्ण उपलब्धि र जिम्मेवारीको प्रतिकका रूपमा आत्मसात गर्दै बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बिहीबार विशेष समारोह आयोजना गरेको हो।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले विगत दुई दशक लामो यात्रामा साथ दिने शेयरधनी, ग्राहक, नियामक निकाय, सञ्चालक, कर्मचारी तथा साझेदार संस्थाहरूलाई धन्यवाद दिएका थिए। उनले बैंकले सामाजिक उत्तरदायित्व र ग्राहकमैत्री सेवामा निरन्तर उदाहरणीय भूमिका खेल्दै आएको उल्लेख गर्दै नवप्रविधि र नविन अवधारणालाई प्राथमिकतामा राखी सेवा सुदृढ बनाइने बताए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकका सम्पूर्ण हितग्राहीप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा स्मार्ट, आधुनिक र डिजिटल सेवाका माध्यमबाट ग्राहक अनुभव सुधार्ने प्रतिबद्धता जनाए।
वार्षिकोत्सवकै अवसरमा बैंकले ‘बाँड्दै न्यानोपन, जोड्दै आफ्नोपन’ नामक सामाजिक उत्तरदायित्व अभियानको घोषणा गरेको छ। ‘लिड फर नेपाल’ संस्थासँग सहकार्यमा सञ्चालन हुने यस अभियानअन्तर्गत, बैंकका १० क्लस्टर कार्यालयमार्फत न्यानो कपडा संकलन गरी बाढीपहिरोपीडित इलामका नागरिकलाई वितरण गरिनेछ।
कार्यक्रममा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरे भने पाँच, दश र पन्ध्र वर्ष सेवा पूरा गरेका २० जना कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो।
“साथ विकासको” भन्ने नाराका साथ अघि बढेको बैंकले हाल १०९ शाखा र ३० एटीएममार्फत सेवा विस्तार गरेको छ। ग्रामीण र शहरी दुवै क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै आएको बैंकले डिजिटल बैंकिङ सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको जनाएको छ।
बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र पारदर्शिताका मापदण्ड पालना गर्दै आएको छ। सीईओ श्रेष्ठका अनुसार,
“सांग्रिला केवल वित्तीय संस्था होइन, समुदायसँगै सास फेर्ने संस्था हो, जसले विश्वास र आफ्नोपनका सम्बन्धलाई बलियो बनाउँदै देशको वित्तीय समावेशीकरणमा योगदान पुर्याइरहेको छ।”
अर्थ चौतारी ।