काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्ना पाँच जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेका कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक शेयर सर्वसाधारण बिक्रीमा ल्याएको छ।
यीमध्ये ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता र चिरञ्जीवि लाल अग्रवालको ३ हजार १७१ कित्ता शेयर रहेका छन्।
बैंकले यसअघि राष्ट्र बैंकको निर्देशन अनुसार यी शेयरहरू विद्यमान संस्थापक शेयरधनीहरूलाई प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादभित्र कुनै आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्रीमा खुला गरिएको हो।
शेयर किन्न इच्छुक व्यक्ति वा संस्था–संगठनहरूले १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
शेयरको बिक्री मूल्य र सम्बन्धित विवरणका लागि हिमालयन बैंकको कानून तथा शेयर विभागमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
अर्थ चौतारी ।