काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबिचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित राख्न नहुने बताएका छन् । सोमबार कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग कतारमा भएको भेटमा अध्यक्ष ढकालले ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन ।
दुवै संस्थाबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा प्रवेश गराउने समय आएको उल्लेख गरेका छन् । ‘नेपाल र कतारबिचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानले दुवै देशको अर्थतन्त्रबिच विश्वास र आत्मीयता निर्माण गरेको छ ।’
अध्यक्ष ढकालले भने ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक्स क्षेत्रमा कतारको विश्वव्यापी क्षमता उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे । उनले सन् २०२३ अक्टोबरमा कतारका अमिर महामहिमको नेपाल भ्रमणका क्रममा भएको सहमति स्मरण गराउँदै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासङ्घ पूर्ण रूपमा तयार रहेको जानकारी दिए ।
उनले यसलाई छिट्टै अन्तिम रूप दिनुपर्ने बताए । ‘नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ, अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौँ,’ उनले भने । अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यावसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउका लागि प्रभावकारी मञ्च हुने धारणा राखे ।
उनले नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक अवसरहरू उपलब्ध रहेको जानकारी दिँदै नेपाल लगानीका लागि खुला रहेको बताए ।
अध्यक्ष ढकालले विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा–आधारित उद्योगसम्म फैलिएको जलविद्युत् क्षेत्र दीर्घकालीन साझेदारीका लागि उपयुक्त रहेकोमा जोड दिए । यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन, साथै विमाननसम्बन्धी सेवामा कतारी लगानीकर्ताको उल्लेखनीय भूमिका हुन सक्ने अध्यक्ष ढकालले बताए ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले यो भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजबुत बनाउने बताए । उनले आउने दिनमा महासङ्घसँगको सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिए । उनले नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) लाई छिट्टै अन्तिम रूप दिने विषयमा आफू सकारात्मक रहेको बताए ।
अध्यक्ष ढकालले पछिल्लो महासङ्घको पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत र कानुनी सुधारहरूको पनि उल्लेख गरे । नीतिगत स्थायित्व, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रियाको सरलीकरणमार्फत सरकारले सुधारहरू गर्दै लगिरहेको जानकारी दिए ।
भेटका क्रममा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्ष तथा प्रतिनिधिमण्डललाई महासङ्घको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिए । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले उनले महासङ्घको साधारण सभामा सहभागिता जनाउने प्रतिबद्धता समेत जनाएको अध्यक्ष ढकालले जानकारी दिए ।
अर्थ चाैतारी ।