काठमाण्डौ । पाल्पा सिमेन्टले पुस २५ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गरिरहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आयोजना तथा खानी प्रभावित स्थानीयलाई १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको छ भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ।
कम्पनी परिचय
यो कम्पनी २०६६ कार्तिकमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज प्राईभेट लिमिटेडनाम बाट कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। २०७८ असारमा यो कम्पनी पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । कम्पनीको उद्योग स्थल सुनुवल, आदर्स ७, नवलपरासीमा रहेको छ भने र चुनढुङ्गा खानी लुम्बिनी प्रदेश पाल्पा जिल्ला माथागढी गा.पा. वडा नं.७ रहबासमा रहेको छ । यो कम्पनी आरएमसी ग्रुप अन्तर्गतको हो ।
यस कम्पनीले तानसेन सिमेन्टको ब्राण्डमा ओपीसी , पीपीसी, र पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले बिक्री प्रयोजनको लागि क्लिन्कर पनि उत्पादन गर्दै आएको छ । कम्पनीको ओपीसी, पीपीसी र पीएससी सिमेन्टको उत्पादनको वार्षिक क्षमता क्रमश ५ लाख १० हजार टन, १ लाख ८० हजार टन, १ लाख ९१ हजार १ सय टन रहेको छ। क्लिन्कर उत्पादनको क्षमता भने ७ लाख ७९ हजार ९ सय ७० टन रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४ लाख ४२ हजार ५ सय २ मेट्रिक टन क्लिन्कर र ३ लाख ८४ हजार ७ सय ७ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको छ। आ.व. २०७८÷७९ देखि कम्पनीले भारतमा समेत आफ्नो उत्पादन निर्यात गर्दै आइरहेको छ । कम्पनीले आ.व. २०८१÷८२ आषाढ मसान्त सम्म १,२८,९५६.१० मे.ट.क्लिंकर र १,८९,७४१.७५ मे.ट.सिमेन्ट भारतीय बजारमा निर्यात गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३ लाख ८४ हजार ७ सय ७ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको उल्लेख गरेको छ । र १ लाख ८९ हजार ७ सय ४१ मेट्रिक टन सिमेन्ट भारत निर्यात गरेको उल्लेख गरेको छ । यस हिसाबमा कम्पनीको ४९.३२ प्रतिशत उत्पादन भारतमा निर्यात भएको देखिन्छ ।
पुँजी विवरण
हाल कम्पनीको अधिकृत पुँजी र जारी पुँजी ३ अर्ब ७५ करोड रहेको छ भने चुक्ता पुँजी ३ अर्ब रहेको छ। स्थानीय, आम सर्वसाधारण, सामूहिक लगानी कोष, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र कर्मचारीहरुलाई आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । आईपीओ निष्काशनपछि कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ८० प्रतिशत रहने छ भने साधारण शेयरधनीको हिस्सा २० प्रतिशत हुने छ ।
आईपीओ निष्काशन अगाडीको अवस्थामा कम्पनीमा राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवालको सबैभन्दा धेरै शेयर रहेको छ । उनीहरुसंग कम्पनीको समान ३६.१२ प्रतिशत शेयर रहेको छ । कम्पनीमा यश अग्रवाल, र शेखर कुमार अग्रवालको समान ४.६६ प्रतिशत स्वामित्व रहेको छ भने स्विटी कुमारी अग्रवाल, र संगीता अग्रवालको समान ४.६१ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीमा विनोद कुमार श्रेष्ठको २.३३ प्रतिशत, दिपक कुमार झाको २.१७ प्रतिशत, प्रभा गोयन्काको १.६७ प्रतिशत, तथा सशी कला श्रेष्ठ र शिल्पी मणिका झाको समान १.१२ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीमा रहेका आधारभुत शेयरधनी यी मात्र हुन् ।
संचालक र व्यवस्थापन
कम्पनीको अध्यक्ष राजेश कुमार अग्रवाल रहेका छन् भने अन्य संचालकहरुमा विष्णु कुमार अग्रवाल, स्वीटी कुमारी अग्रवाल, यश अग्रवाल र आर.एम.सी कन्सट्रकसन एण्ड इन्भेष्टमेन्ट प्रा.लि. को तर्फबाट प्रियान्शी अग्रवाल रहेका छन्।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत अतुल डालमिया हुन् भने प्रमुख लेखा अधिकृतमा संजय कुमार जोशी रहेका छन् । कम्पनीको प्रमुख बजार व्यवस्थापन अधिकृतमा ओम प्रकाश शाह रहेका छन् भने प्रमुख वित्तीय अधिकृतमा बेगम केसी छन् । कम्पनीमा ४०३ जना स्थायी कर्मचारी छन् ।
१२ वटा सहायक कम्पनी
यस कम्पनीको निम्न १२ वटा सहायक कम्पनी रहेका छन् । सबै सहायक कम्पनीमा मुख्य कम्पनीको शतप्रतिशत लगानी रहेको छ ।
देवदह माइन्स एण्ड मिनिरल्स प्रा.लि.
घारी माइन्स एण्ड मिनिरल्स प्रा.लि
गोठादी मिनिरल्स प्रा.लि.
पाल्पा माइन्स एण्ड मिनिरल्स प्रा.लि.
आ.के. मिनिरल्स प्रा.लि.
रहबास मिनिरल्स प्रा.लि.
आर.एम.सि माइन्स एण्ड मिनिरल्स प्रा.लि
एस.ए. मिनिरल्स प्रा.लि.
एस.आर.भि माइन्स प्रा.लि.
तानसेन माइन्स एण्ड मिनिरल्स प्रा.लि
भि.के. मिनिरल्स प्रा.लि.
यश मिनिरल्स प्रा.लि.
वित्तीय अवस्था
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८१ लाख खुद नाफा गरेको थियो भने कम्पनीको प्रति शेयर आम्दानी ३.२५ रुपैयाँ थियो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ४४ लाख खुद नाफा गरेको थियो भने कम्पनीको प्रति शेयर आम्दानी २.३४ रुपैयाँ थियो। कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ९० करोड ५२ लाख खुद नाफा गरेको थियो भने कम्पनीको प्रति शेयर आम्दानी १.३१ रुपैयाँ थियो। आर्थिक वर्ष २०७९/८०, आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ (पुनर्मूल्यांकन बाहेक) क्रमश ११४.०१ रुपैयाँ, ११६.३६ रुपैयाँ र ११९.६२ रुपैयाँ रहेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३, आर्थिक वर्ष २०८३/८४ र आर्थिक वर्ष २०८४/८५ मा कम्पनीले खुद नाफा क्रमश १ अर्ब १५ करोड, १ अर्ब १४ करोड र १ अर्ब १४ करोड हुने प्रक्षेपण गरेको छ । यी आर्थिक वर्षमा कम्पनीले प्रति शेयर आम्दानी क्रमश ८.८० रुपैयाँ, ८.१४ रुपैयाँ र ८.२६ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०८२/८३, आर्थिक वर्ष २०८३/८४ र आर्थिक वर्ष २०८४/८५ मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ (पुनर्मूल्यांकन बाहेक) क्रमश १२३.०६ रुपैयाँ, १३१.३० रुपैयाँ र १३९.६६ रुपैयाँ रहेको थियो ।
ऋण विवरण र आईपीओबाट संकलित पुँजीको उपयोग
कम्पनीले विभिन्न ५ वटा वाणिज्य बैंकबाट दिर्घकालिन कर्जा र कार्यशिल पुँजी कर्जा लिएको छ । जस मध्ये ५ अर्ब ९१ करोड दिर्घकालिन ऋण रहेको छ भने ५५ करोड १५ लाख रुपैयाँ कार्यशिल पुँजी कर्जा रहेको छ । कम्पनीको कुल कर्जा ६ अर्ब ४६ करोड ५० लाख रहेको छ ।
कम्पनीले आईपीओ मार्फत कुल ७५ करोड पुँजी संकलन गर्दै छ । सबै रकम बैंकबाट लिएको स्थायी चालु पुँजी कर्जा भुक्तानीको लागि प्रयोग हुने कम्पनीले जनाएको छ। कम्पनीले ५ वटै वाणिज्य बैंकलाई ऋण भुक्तानी गर्ने छ।
रेटिङ्ग विवरण
कम्पनीले आईपीओ निष्काशनको लागि इन्फोमेरिक्स् क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडबाट क्रेडिट रेटिङ्ग गराएको छ। जसमा कम्पनीले २०८२ जेष्ठ २ गते “IRN BB+ (Is) [Double B Plus (Issuer)]” प्रमाणपत्र प्राप्त गरेको छ । जसले Moderate risk of default regarding timely servicing of financial obligations. Such issuers carry moderate credit risk भन्ने जनाउंदछ । इन्फोमेरिक्स् क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले “IRN AAA (Is)” देखि “IRN D (Is)” सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा ग्रेड “IRN AAA (Is) ले बलियो आधार जनाउँछ भने IRN D (Is) ले कमजोर आधार जनाउँछ । रेटिङ्ग संकेत पछाडि रहनें +(जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितीलाई जनाउँदछ । क्रेडिट रेटिङ्ग मिति २०८३/ ०१ / २९ सम्म बाहल रहने छ।
अर्थ चाैतारी ।