काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थानीय लघु, साना तथा मझौला उद्योग (एमएसएमई) हरूको प्रवर्द्धन गर्ने उद्देश्यसहित ५० औं ‘ग्लोबल हाट बजार’ कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्यक्रम शुक्रबार, माघ २, २०८२ मा आयोजना गरिनेछ।
स्थानीय उद्यमीहरूलाई आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री–वितरणको अवसर प्रदान गर्ने लक्ष्यसहित सुरु गरिएको यो साप्ताहिक कार्यक्रम पछिल्ला दिनहरूमा अत्यन्त लोकप्रिय बन्दै गएको छ। हाट बजारमार्फत घरेलु उत्पादन, हस्तकला, कृषि उपज, अर्गानिक खाद्य सामग्री, परम्परागत वस्तु लगायत विविध रैथाने उत्पादनहरू उपभोक्तासमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत हुँदै आएका छन्।
बैंकले सबैको निरन्तर उत्साह, सहयोग र सक्रिय सहभागिताका कारण यो कार्यक्रम स्थानीय उद्योगहरूका लागि प्रभावकारी प्लेटफर्मका रूपमा स्थापित भएको जनाएको छ। यसले उद्यमीहरूलाई बजार विस्तार, ब्रान्ड पहिचान र आम्दानी वृद्धि गर्न सहयोग पुग्नुका साथै उपभोक्तालाई गुणस्तरीय र स्थानीय उत्पादन सहज रूपमा प्राप्त हुने अवसर समेत प्रदान गरेको छ।
ग्लोबल आइएमई बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीय उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा रोजगारी सिर्जनामा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


अर्थ चौतारी ।