काठमाण्डौ । इरान र अमेरिकाबीच बढ्दो तनाव र इरानको पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले आफ्ना नागरिकलाई इरान भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ।
आइतबार परराष्ट्र मन्त्रालयले एक विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो अपिल गरेको हो। मन्त्रालयले इरानको अवस्था सामान्य नभएसम्मका लागि पूर्व निर्धारित सबै भ्रमण योजनाहरू स्थगित गर्न नेपाली नागरिकहरूलाई सुझाव दिएको छ।
“इरानमा भइरहेको पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “त्यस्तै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकलाई उपलब्ध भएसम्मका माध्यम प्रयोग गरी सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ।”
इरानस्थित संयुक्त राष्ट्रसंघीय कार्यालय र अन्य क्षेत्रमा सानो संख्यामा नेपालीहरू कार्यरत रहेको अनुमान छ। आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूलाई आफ्ना राहदानी (पासपोर्ट), यात्रा अनुमति पत्र, परिचयपत्र जस्ता महत्त्वपूर्ण कागजातहरू तयारी अवस्थामा र सहजै भेटिने स्थानमा राख्न निर्देशन दिएको छ।
उद्धार वा आकस्मिक बहिर्गमनका लागि यस्ता कागजात अनिवार्य हुने भएकाले पूर्वसतर्कता अपनाउन भनिएको हो।मन्त्रालयले थप समन्वय वा सहयोगका लागि काठमाण्डौस्थित परराष्ट्र मन्त्रालय वा कतारको दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत नेपाली नागरिकलाई सूचित गरेको छ।
अर्थ चाैतारी ।