काठमाण्डौ । अन्य क्षेत्रबाट कर्जाको माग सुस्ताउँदा वाणिज्य बैंकहरुले भने शेयर बजारमा कर्जा लगानी बढाएका छन्। शेयर बजारमा वाणिज्य बैंकहरुले आक्रामक ढंगले कर्जा प्रवाह गरिरहेका हुन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास पुससम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २९ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका छन्। यी बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ को पुससम्म ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ४१.६७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म सबैभन्दा धेरै शेयर लोन दिने बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको पुससम्मको तुलनामा समीक्षा अवधिमा १७ वटा बैंकबाट गएको शेयर लोन बढेको छ। सिटिजन्स र नेपाल बैंकले शेयर लोन प्रवाह घटाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन।
चालु आर्थिक वर्षको पुससम्म नबिल बैंकले १६ अर्ब ९५ करोड २८ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको पुससम्मको तुलनामा ३४.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पुससम्ममा बैंकले १२ अर्ब ६० करोड ९२ लाख रुपैयाँ शेयर लोन दिएको थियो।
दोस्रो धेरै शेयर लोन प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष पुससम्म ११ अर्ब ५५ करोड ४ लाख रुपैयाँ शेयर लोन दिएको बैंकले समीक्षा अवधिसम्म १७.१८ प्रतिशतले बढाएर १३ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ।
धेरै शेयर लोन दिने कुमारी तेस्रो बैंक हो। यो बैंकले चालु वर्षको पुससम्म १० अर्ब १७ करोड ९० लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष पुससम्ममा बैंकले ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकबाट गएको शेयर लोन २०.०४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म सबैभन्दा कम शेयर लोन दिने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ भने सिटिजन्सको ०.०१ प्रतिशत र नेपाल बैंकको कर्जा प्रवाह १०.२५ प्रतिशतले घटेको छ। कर्जा प्रवाहको वृद्धिदर २८०.१३ प्रतिशतका साथ कृषि विकास बैंक अगाडि रहेको छ।
कसले कति दिए शेयर कर्जा?

अर्थ चाैतारी ।