logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • उनेपाको घोषणापत्र

    सन् २०३५ सम्म जीडीपी लक्ष्य १११ अर्ब डलर, तर पुरानै दलको छाया

    सन् २०३५ सम्म जीडीपी लक्ष्य १११ अर्ब डलर, तर पुरानै दलको छाया

    1.5K
    SHARES
    सन् २०३५ सम्म जीडीपी लक्ष्य १११ अर्ब डलर, तर पुरानै दलको छाया

    काठमाण्डौ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीले (उनेपा) सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा अर्थतन्त्रलाई उत्पादनमुखी, समावेशी र दिगो बनाउने महत्त्वाकांक्षी योजनाहरू समावेश गरिएका छन् । सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य नारा बनाएको यस पार्टीले आगामी दशकलाई ‘समृद्धिको लागि विकास दशक’ घोषणा गर्दै नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने संकल्प गरेको छ ।



    उनेपाले नयाँ शक्ति र नयाँ सोचका साथ आफूलाई प्रस्तुत गरे पनि यसको घोषाणा पत्रले अर्थतन्त्रका पुराना राजनीतिक दलहरूको छाप छोड्न सकेको देखिँदैन । यस घोषणापत्रमा जलस्रोत, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना र डिजिटल नवीनतालगायत लगभग सबै क्षेत्रलाई समेट्दै नेपाललाई नयाँ युगमा डोर्‍याउने महत्त्वाकांक्षी सपना बाँडेको छ । उनेपाको घोषणापत्रमा पुराना राजनीतिक दहरूको आर्थिक एजेन्डाको छाया प्रस्ट देखिन्छ ।

    के के छन् एजेन्डा ?

    पार्टीको घोषणापत्रमा सन् २०३० सम्ममा कुल गार्हस्थ उत्पादन (जीडीपी) ७० अर्ब अमेरिकी डलर र सन् २०३५ सम्ममा १११ अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । साथै सन् २०३५ सम्ममा नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । हालको करिब ४५ अर्ब अमेरिकी डलरको जीडीपीलाई आधार मानेर २०३० सम्ममा वार्षिक ९ प्रतिशत र त्यसपछि २०३५ सम्ममा १० प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । प्रतिव्यक्ति आय सन् २०३५ सम्ममा करिब ४ हजार डलर पुर्‍याउने महत्त्वाकांक्षा पनि पार्टीको छ ।

    रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखिएको छ । पार्टीले सन् २०३० सम्ममा प्रतिवर्ष करिब १० लाख र सन् २०३५ सम्ममा १५ लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरेको छ । यसका लागि हाइड्रो, कृषि, पर्यटन, आईटी, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता क्षेत्रबाट वार्षिक ९ लाख रोजगारी सिर्जना गरी ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने योजना छ । युवा स्वरोजगारी अभियान, न्यून ब्याजमा ऋण र ५ लाख रुपैयाँसम्मको स्टार्टअप अनुदानमार्फत युवालाई उद्यमशील र आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि पार्टीले जनाएको छ । बेरोजगार दरलाई सन् २०३० सम्ममा ८ प्रतिशत र २०३५ सम्ममा ५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य छ । गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गरी हालको २०.१ प्रतिशत गरिबी दरलाई सन् २०३० सम्ममा १५ प्रतिशत र २०३५ सम्ममा १० प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखिएको छ ।

    जलविद्युत उत्पादनलाई सन् २०३० सम्म १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तोकिएको छ । यसबाट वार्षिक ५ अर्ब डलर राजश्व प्राप्त गर्ने र २०४५ सम्ममा नेपाललाई कार्बन न्यूट्रल मुलुक बनाउने परिकल्पना पनि छ । तर यति ठुलो मात्रामा ऊर्जा उत्पादनका लागि आवश्यक खरबौं रुपैयाँको लगानी कहाँबाट जुटाइन्छ भन्नेमा प्रतिबद्धता–पत्र मौन छ । जनताको जलविद्युत् कोष र १,००० कित्ता सेयर अभियानजस्ता कार्यक्रमहरू सकारात्मक लागे पनि यिनले कुल लगानीको ठुलो हिस्सा धान्न सक्ने अवस्था देखिँदैन । विदेशी लगानी आकर्षित गर्ने भनिए पनि त्यसका लागि ठोस नीतिगत सुधार र कानुनी सहजताको विस्तृत खाका प्रस्तुत गरिएको छैन ।

    निःशुल्क स्वास्थ्य सेवा र विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षाजस्ता जनमुखी कार्यक्रमहरू आकर्षक लागे पनि यिनको वित्तीय भार र कार्यान्वयन पक्ष निकै जटिल छ । स्वास्थ्य क्षेत्रमा वडा तहसम्म विशेषज्ञ सेवा र मोबाइल क्लिनिकको व्यवस्था गर्ने कुरा कागजमा जति आकर्षक सुनिन्छ, यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति (डाक्टर, नर्स, प्राविधिक), औषधि, उपकरण र भौतिक पूर्वाधारको व्यवस्थापन कसरी हुन्छ भन्ने स्पष्ट छैन ।

    शिक्षामा कमाउँदै पढ्दै सिक्दै र श्रमबजार प्रवेश उत्प्रेरणा भत्ताजस्ता कार्यक्रमहरू स्वागतयोग्य भए पनि देशव्यापी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न लाग्ने ठुलो बजेटको व्यवस्थापन र भत्ताको दुरुपयोग रोक्ने संयन्त्रबारे प्रस्ट पारिएको छैन ।

    त्यस्तै कृषिमा अर्गानिक कृषि क्रान्ति, प्रत्यक्ष अनुदान र निःशुल्क सिँचाइ विद्युतजस्ता योजनाहरू सकारात्मक छन् । तर, देशको ५० प्रतिशत कृषि क्षेत्रलाई जैविकमा रूपान्तरण गर्न आवश्यक पूर्वाधार, बजार र किसानको चेतना वृद्धि कसरी हुन्छ भन्नेमा अस्पष्टता छ । किसानमैत्री बजार र मूल्य सुनिश्चितता भनिए पनि त्यसको ठोस मोडल छैन । प्रतिवर्ष ९ लाख र ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य निकै महत्त्वाकांक्षी देखिन्छ । विगतमा रोजगारी सिर्जनाका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारितालाई हेर्दा यो लक्ष्य हासिल गर्न विशेष नीतिगत पहल र ठुलो लगानी आवश्यक पर्ने देखिन्छ ।

    सडक, रेलमार्ग, जलमार्ग, स्मार्ट सिटी, मेट्रो र पोडवेजस्ता उच्च प्रविधियुक्त पूर्वाधार निर्माणका सपनाहरू निकै ठुला छन् । काठमाडौँ–निजगढ, रक्सौल–काठमाडौँ–केरुङ रेलमार्ग, जलमार्गको विकास र ’एक प्रदेश एक स्मार्ट सिटी’ जस्ता परियोजनाहरूमा खरबौं रुपैयाँ लाग्ने देखिन्छ । यी परियोजनाहरूको लगानीको स्रोत, जग्गा अधिग्रहणको चुनौती, वातावरणीय प्रभाव र नेपालको प्राविधिक क्षमतालाई हेर्दा यिनको कार्यान्वयन निकै जटिल हुनेछ । देशको सीमित स्रोतसाधनमा यी सबै ठुला परियोजनाहरूलाई एकैपटक अगाडि बढाउँदा प्राथमिकता निर्धारण र वित्तीय व्यवस्थापनमा ठुलो चुनौती आउन सक्छ ।

    यसैगरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती, मन्त्रालय संख्या घटाउने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणाजस्ता संविधान संशोधनका प्रस्तावहरू सैद्धान्तिक रूपमा खर्च कटौती र सुशासनका लागि राम्रा देखिए पनि, यिनको कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलहरूबिच व्यापक सहमति र राजनीतिक इच्छाशक्ति आवश्यक पर्छ, जुन नेपालको वर्तमान सन्दर्भमा निकै कठिन कार्य हो । भ्रष्टाचारविरुद्ध कठोर प्रावधानहरू (आजीवन प्रतिबन्ध, सम्पत्ति राष्ट्रियकरण) स्वागतयोग्य भए पनि, यसको निष्पक्ष र प्रभावकारी कार्यान्वयनका लागि स्वतन्त्र निकाय र दह्रो राजनीतिक प्रतिबद्धताको खाँचो पर्छ ।

    डिजिटल नवीनता अन्तर्गत डाटा संरक्षण, साइबर सुरक्षा र एआई नीति निर्माण जस्ता विषयहरू समसामयिक छन् । तर, यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति, प्रविधि र नियामक निकायको क्षमता विस्तारमा ठोस योजना छैन ।

    युवा रोजगार मेला, स्टार्टअप अनुदान र डिजिटल सीप तालिमहरू राम्रा भए पनि देशका लाखौं युवाहरूलाई समेट्नका लागि यिनको पहुँच र दिगोपना सुनिश्चित गर्नुपर्ने चुनौती छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट