logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • आर्थिक रूपान्तरणका लागि एफएनसीसीआईद्वारा आगामी बजेटका लागि २१८ बुँदे सुझाव पेस, भ्याटमा बहुदर कायम गर्न महासंघको माग

    आर्थिक रूपान्तरणका लागि एफएनसीसीआईद्वारा आगामी बजेटका लागि २१८ बुँदे सुझाव पेस, भ्याटमा बहुदर कायम गर्न महासंघको माग

    13
    SHARES
    आर्थिक रूपान्तरणका लागि एफएनसीसीआईद्वारा आगामी बजेटका लागि २१८ बुँदे सुझाव पेस, भ्याटमा बहुदर कायम गर्न महासंघको माग

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई विस्तृत सुझाव पेस गरेको छ । महासंघले सुशासन, डिजिटल सेवा प्रवाह, राजस्व प्रणालीमा सुधार, र लगानी प्रवर्द्धन जस्ता मुख्य क्षेत्रहरूलाई समेटेर तीन महले सुझाव दिएको हो ।



    महासंघले मुलुकको वर्तमान आर्थिक शिथिलतालाई चिर्दै दिगो आर्थिक विकासका लागि नीतिगत र कानुनी सुधारको आवश्यकतामा जोड दिएको छ । महासंघले नागरिक एपलाई विस्तार गरी ‘व्यवसाय’ नामक छुट्टै आइकन थप्न र त्यसैमार्फत व्यवसाय दर्ता, नवीकरणदेखि खारेजीसम्मका सबै काम अनलाइन गर्न सुझाव दिएको छ ।

    यस्तै, वडा कार्यालयबाटै लघु र घरेलु उद्यमीको दर्ता र राजस्व बुझाउने व्यवस्था मिलाउन तथा आर्थिक कसुरमा फौजदारी सरह कैद सजाय नगरी आर्थिक जरिवाना मात्र गर्ने कानुनी व्यवस्था गर्न माग गरिएको छ। सरकारी सेवामा डिजिटल हस्ताक्षर अनिवार्य गर्न पनि सुझाइएको छ ।

    महासंघले ‘एकीकृत राजस्व कानुन संहिता’ लागू गर्नुपर्ने माग गरेको छ । आयकरतर्फ व्यक्तिगत आयकर छुटको सीमा वृद्धि गरी व्यक्तिको हकमा ८ लाख र दम्पतीको हकमा १० लाख पुर्‍याउन प्रस्ताव गरिएको छ । मूल्य अभिवृद्धि करतर्फ अत्यावश्यक वस्तु र सेवामा कम दर लागू गर्न र बहु-दर प्रणालीको पाइलटिङ गर्न सुझाइएको छ । यसैगरी अन्तःशुल्क र भन्सारतर्फ स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको आयातमा अन्तःशुल्क नलाग्ने र भन्सार महसुल तयारी वस्तुको तुलनामा कम्तीमा दुई तह कम हुनुपर्ने महासंघको माग छ ।

    आर्थिक रूपान्तरणका लागि ‘एकीकृत लगानी संहिता’ ल्याउनुपर्ने र विदेशी लगानी आकर्षित गर्न द्विपक्षीय लगानी सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने महासंघको भनाइ छ । स्टार्टअपको परिभाषा परिमार्जन गरी ५० करोडसम्मको चुक्ता पुँजी भएका कम्पनीलाई यसमा समेट्न र स्टार्टअपलाई १० वर्षसम्म आयकर छुट दिन प्रस्ताव गरिएको छ ।

    प्रविधिमार्फत समृद्धि हासिल गर्न गुगल पे, पेपाल जस्ता अन्तर्राष्ट्रिय भुक्तानी माध्यमहरूलाई नेपालमा सहज बनाउन माग गरिएको छ । साथै, सूचना प्रविधि निर्यात गर्ने कम्पनीलाई ५ वर्षसम्म १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गर्न सुझाइएको छ ।

    पर्यटनतर्फ नेपाललाई ‘विवाह र सभा सम्मेलन’ गन्तव्यको रूपमा विकास गर्न भारतीय पर्यटकलाई सुनका गहना ल्याउन सहज भन्सार प्रक्रिया मिलाउन र सीमा क्षेत्रका सहरहरू (भैरहवा, नेपालगन्ज) लाई ‘क्यासिनो सिटी’ को रूपमा विकास गर्न विशेष छुटको व्यवस्था गर्न सुझाव दिइएको छ ।

    कृषि क्षेत्रको व्यवसायीकरणका लागि ‘किसान परिचयपत्र’ वितरण गरी अनुदानलाई उत्पादनसँग जोड्न र ‘खेतदेखि खाडीसम्म’ कार्यक्रममार्फत कृषि र पिउने पानी निर्यातमा सहजता मिलाउन माग गरिएको छ । ऊर्जा क्षेत्रमा १० देखि १५ वर्षसम्म आयकर छुट दिने समय सीमालाई २०९२ सम्म विस्तार गर्न र ‘पम्प स्टोरेज’ आयोजनाका लागि छुट्टै नीति ल्याउन सुझाइएको छ ।

    उद्यमीहरूलाई परियोजना धितोमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने, महिला र युवा उद्यमीलाई पुनर्कर्जाको व्यवस्था गर्ने र स्थानीय स्तरमा उत्पादित वस्तुको भण्डारण र बजार व्यवस्थापनका लागि सार्वजनिक-निजी साझेदारीमा कम्पनी स्थापना गर्नुपर्ने सुझावमा उल्लेख छ ।

    महासंघका अनुसार यी सुझावहरूको कार्यान्वयनले लगानीकर्ताको मनोबल बढ्ने, रोजगारी सिर्जना हुने, र राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परी मुलुकको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ । महासंघले यी सुझावहरूलाई आगामी बजेटमा ठोस रूपमा सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

    अरू केके माग छन् ? बुँदामा हेर्नुहोस्ः

    १. कानुनी तथा संरचनागत सुधार
    उधारो उठाउने कानुन: व्यापारिक कारोबारमा उधारो रकम उठाउन बाधा पुगेको भन्दै महासंघले छुट्टै ‘रिकभरी एक्ट’ निर्माण गर्नुपर्ने
    राजस्व बोर्ड र ट्रिब्युनल: अर्थ मन्त्रालय मातहत रहने गरी एउटा स्थायी र अधिकारसम्पन्न ‘राजस्व बोर्ड’ गठन गर्न र कर विवाद समाधानका लागि २०७२ सालदेखि बाँकी रहेका मुद्दा टुङ्ग्याउन विशेष आयोग बनाउनुपर्ने ।
    उजुरी र पुनरावलोकन: कर प्रशासनले गरेको निर्णयमा चित्त नबुझे पुनरावलोकनमा जाँदा नगद धरौटी राख्नुपर्ने हालको व्यवस्थाको सट्टा ‘बैंक ग्यारेन्टी’ राख्न पाउने ।
    लेखा परीक्षकको सहभागिता: राजस्व प्रशासनको पुनर्संरचना गर्दा चार्टर्ड एकाउन्टेन्टहरू (CAs) लाई पनि समूहमा समावेश गर्नुपर्ने ।

    २. आयकर र अन्तःशुल्क सम्बन्धी
    एकीकृत सम्पत्ति कर: घर बहाल कर व्यक्ति र निकायले छुट्टाछुट्टै ठाउँमा तिर्नुपर्ने झन्झट हटाएर एउटै बिन्दुबाट तिर्ने व्यवस्था गर्नुपर्ने ।
    व्यवसायिक सम्पत्तिमा कर छुट: व्यवसायमा प्रयोग भइरहेका सक्रिय सम्पत्तिमा लाग्ने ‘सम्पत्ति कर’ खारेज गर्नुपर्ने ।
    सीएसआर खर्च: उद्योगहरूले गर्ने सामाजिक उत्तरदायित्वको खर्चलाई आयकर गणना गर्दा खर्चमा कट्टी गर्न पाउने स्पष्ट व्यवस्था ।
    लाभांश र बोनस सेयर: बोनस सेयरलाई लाभांशको रूपमा गणना गरी कर लगाउन नहुने र गाभिएका कम्पनीहरूको हकमा २ वर्षसम्म लाभांश कर छुट दिनुपर्ने ।
    विदेशी कार्गोमा कर: अन्तर्राष्ट्रिय कार्गो व्यवसायमा लाग्दै आएको अग्रिम आयकर खारेज गर्नुपर्ने ।

    ३. भन्सार प्रशासन र प्रक्रियागत सुधार
    झुक्किएर भएको गल्तीमा जरिवाना नहुने: भन्सार घोषणा गर्दा भूलवश कागजात फरक परेमा लाग्ने १० प्रतिशत जरिवाना हटाउनुपर्ने ।
    विद्युतीय भुक्तानी: भन्सारमा २० लाख भन्दा बढीको भुक्तानी गर्दा प्रणालीमा देखिन समय लाग्ने समस्या समाधान गर्नुपर्ने ।
    एक्जिट समय: ड्राई पोर्टहरूमा सामान जाँचपास भएपछि बाहिर निस्कने समयको सीमा हटाएर चौबीसै घण्टा खुला गर्नुपर्ने ।
    भारतीय भन्सारसँग तादाम्यता: सुन र अन्य विलासी वस्तुको भन्सार दर छिमेकी भारतको सरह बनाउनुपर्ने ताकि अवैध व्यापार निरुत्साहित हुनुपर्ने ।
    सेल्फ भेरिफिकेसन: भ्याटमा जस्तै अन्तःशुल्कमा पनि ‘सेल्फ भेरिफिकेसन’ को सुविधा दिनुपर्ने ।

    ४. उद्योग र पूर्वाधार
    गाडी एसेम्बल उद्योग: नेपालमै गाडी एसेम्बल गर्ने उद्योगहरूलाई भन्सार, अन्तःशुल्क र सडक दस्तुरमा ७५ प्रतिशतसम्म छुट दिनुपर्ने ।
    विद्युत महसुल छुट: निर्यातजन्य र आयात प्रतिस्थापन गर्ने उद्योगलाई १० वर्षसम्म विद्युत महसुलमा विशेष छुट दिनुपर्ने ।
    ट्रेडमार्क दर्ता: ट्रेडमार्क दर्ता प्रक्रिया हाल निकै ढिलो (२ वर्षसम्म लाग्ने) भएकोले यसलाई सरल र छिटो बनाउनुपर्ने ।
    ईआईए र आईईई प्रक्रिया: वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को रिपोर्ट ६ महिनाभित्र र आईईईको ३ महिनाभित्र स्वीकृत गरिसक्नुपर्ने समयसीमा तोकिनुपर्ने ।
    स्वदेशी काठको प्रयोग: विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी काठको संकलन र ओसारपसारमा रहेका कानुनी बाधा हटाउनुपर्ने ।

    ५. बैंक, बीमा र पुँजी बजार
    परियोजना कर्जा: घरजग्गा धितो मात्र खोज्ने परम्परा हटाएर परियोजनाकै धितोमा ऋण दिने व्यवस्था प्रभावकारी बनाउनुपर्ने ।
    बीमा शुल्कमा पुनरावलोकन: बैंकहरूले कर्जा नवीकरण गर्दा लिने उच्च बीमा शुल्क घटाउनुपर्ने ।
    सेयर बजार: नेप्से र सिडिएससीको पुनर्संरचना गरी निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने र धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउनुपर्ने ।
    बजेट पाइलटिङ: केही वस्तु र सेवामा भ्याटको ‘रिलक्स्ड रेट’ (कम दर) यसै वर्षदेखि परीक्षणको रूपमा लागू गर्नुपर्ने ।

    ६. साना व्यवसायी र अन्य
    मिसम्याच समाधान: भ्याट र आयकरमा देखिने ‘मिसम्याच’ को समस्यालाई स्थायी रूपमा समाधान गर्न आर्थिक ऐनमै व्यवस्था हुनुपर्ने ।
    भ्याटको थ्रेसहोल्ड: वस्तुको हकमा १ करोड र सेवाको हकमा ५० लाखसम्मको कारोबार गर्नेलाई भ्याटमा दर्ता हुनु नपर्ने गरी सीमा बढाउनुपर्ने ।
    स्थानीय करको एकरूपता: विभिन्न स्थानीय तहले लिने कवाडी कर, सडक कर र अन्य दोहोरो करहरू खारेज गरी भन्सार बिन्दुमै एकीकृत कर लिने व्यवस्था गर्नुपर्ने ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • सोमबार, ११ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट