काठमाण्डौ । कृषि प्रधान देश नेपालमा ठुलो परिमाणमा बाहिरी मुलुकबाट कृषिजन्य वस्तु धानचामल कनिकादेखि तरकारीजन्य वस्तु आयातमा ठुलो रकम बाहिरिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको आयातको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म (७ महिना) मा खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड रुपैयाँ बराबरको बाहिरिएको छ ।
यसमध्ये ३५ अर्ब ६२ करोड ९० लाख १८ हजार रुपैयाँ बराबरको खाद्यान्न र २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको दाल तथा तरकारीजन्य वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । अधिकांश खाद्यान्न तथा तरकारी छिमेकी मुलुक भारत र चीनबाट आयात भएको छ ।
यो आयातको प्रत्यक्ष असर नेपालको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा परिरहेको छ । हरेक वर्ष अर्बौँको कृषि वस्तु खरिदमा खर्च हुँदा देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ ।
ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुँदा स्वदेशी किसानलाई प्रतिस्पर्धी बन्न कठिनाइ हुने र अन्ततः कृषि पेसाबाट पलायन हुने अवस्था सिर्जना गर्ने तथा युवा जनशक्ति विदेश पलायन भइरहेको छ । यस सन्दर्भमा कृषि क्षेत्रजन्य वस्तु आयातको प्रभुत्व कायम रहनुले ग्रामीण अर्थतन्त्र झनै कमजोर बन्ने खतरा बढेको छ ।
खाद्यान्नमा बाहिरियो ३५ अर्ब ६२ करोड
चालु वर्षको सात महिनामा ७ लाख ४४ हजार ९९४.९९ मेट्रिक टन खाद्यान्न (अनाज) आयात हुँदा ३५ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ । उक्त अनाज आयात हुँदा भन्सारबाट २ अर्ब २७ करोड १७ लाख ८७ हजार बराबर राजस्व संकलन भएको छ ।
विभागका अनुसार यसमध्ये सबैभन्दा ठुलो रकम धान आयातमा बाहिरिएको छ । माघ मसान्तसम्म १२ अर्ब ८४ करोड ७९ लाख २५ हजार रुपैयाँको ३ लाख ४८ हजार ४१०.२० मेट्रिक टन धान आयात भएको छ । यसैगरी, दोस्रोमा चामल आयात भएको छ ।
१२ अर्ब ३७ करोड ८४ लाख २७ हजार रुपैयाँको ३ लाख ४८ हजार ४१०.२० मेट्रिक टन चामल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी, तेस्रोमा सबैभन्दा धेरै आयात हुने खाद्यान्नमध्ये मकै छ । ८३ लाख ९ हजार १२० हजार रुपैयाँको १ लाख ९३ हजार २१.१५ मेट्रिक टन मकै आयात भएको छ ।

२२ अर्बभन्दा बढीको दाल र तरकारी आयात
यो सात महिनाको अवधिमा दाल तथा तरकारीजन्य वस्तु आयातमा २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ । यो अवधिमा ५ लाख १९ हजार ४२८.७२ मेट्रिक टन दाल तथा तरकारीजन्य वस्तु आयात भएको छ । उक्त परिमाणमा तरकारीजन्य वस्तु आयात हुँदा २४ लाख ६२ हजार ३८३ हजार रुपैयाँ भन्सार विन्दुमा राजस्व संकलन भएको छ ।
यसमध्ये १४ अर्ब १० करोड ९ लाख ६२ हजार रुपैयाँको ४ लाख ३९ हजार ९०५.१४ मेट्रिक टन तरकारी आयात भएको छ भने ९ करोड १५ लाख ५५ हजार रुपैयाँको २ हजार ४९१.५९ मेट्रिक टन कन्दमुल (तरुल, सखरखण्ड, पिँडालु) आयात भएको छ । यस्तै ८ अर्ब ६ करोड ५३ लाख १८ हजार रुपैयाँको ७७ हजार ३१.९९ मेट्रिक टन दाल तथा गेडागुडी आयात भएको छ । यसमध्ये ४ अर्ब ५ करोड बराबरको ३८ हजार ७३४.२३ मेट्रिक टन राजमा २ अर्ब ४३ करोड रुपैयाँको २५ हजार ६८९.१० टन मुसुरो आयात भएको छ । यस्तै ३९ करोड २७ लाख ७३ हजार रुपैयाँको रहर दाल तथा ३७ करोड ८४ लाख रुपैयाँ बराबरको केराउ आयात भएको उल्लेख छ ।

१४ अर्ब बराबरको तरकारी मात्रै
सात महिनामा तरकारी मात्रै १४ अर्ब १० करोड बराबरको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसमध्ये ६ अर्ब ५६ करोड बराबरको २ करोड ७२ लाख १३ हजार ९६६.३० मेट्रिक टन आलु आयात भएको छ । यसैगरी ४ अर्ब २५४ करोड रुपैयाँको १ लाख २ हजार ८०.१६ मेट्रिक टन प्याज, १ अर्ब ७३ करोड रुपैयाँको १२ हजार ३ सय २५.०५ मेट्रिक टन लसुन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
तरकारी आयात परिमाण

अर्थ चाैतारी ।