काठमाण्डौ । सेयर बजारको सम्पत्तिमा एकैदिन २ खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँले बढेको छ । करिब एक सातापछि पहिलो पटक खुलेको बजार एकैदिन १६२.९३ अंकले बढ्दा बजार पुँजीकरणमा सो बराबरको वृद्धि देखिएको हो । आजको कारोबारसँगै बजार २८७५.४३ अंकमा पुगेको छ यो विगत ७ महिनायताकै सबैभन्दा धेरै हो ।
नेपालमा निर्वाचन सम्पन्न भएर नयाँ संसदको स्वरूप निर्धारण भएसँगै खुलेको बजारले यसको प्रतिक्रिया देखाएको हो । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई बहुमत प्राप्त गर्दै एकलौटी रूपमा सरकार बनाउनसक्ने अवस्था देखाएको छ ।
यो अङ्कगणितसँगै आगामी सरकारमा रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने देखिएको छ भने अर्थमन्त्रीमा सोही पार्टीका उपाध्यक्ष समेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने देखिएको छ ।
विगतमा कुनै सरकार परिवर्तन हुने वा नयाँ अर्थमन्त्री आउने विषयले सेयर बजारलाई प्रभावित गर्ने गरेको थियो । सरकार कायमै रहँदा पनि अर्थमन्त्री परिवर्तनको हल्ला चलाएर बजारलाई उतारचढाव गराउने प्रवृत्ति पनि थियो । निर्वाचनको परिणामसँगै प्रधानमन्त्री र अर्थमन्त्री एकैपटक को बन्ने भन्ने लगभग निश्चित भएको छ ।
यो अवस्थामा बढेको बजारको मुख्य कारण के हो र अब पुँजी बजार कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ-
आज सेयर बजार सर्किट लेभलमा बढ्नुको मुख्य कारण निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने अवस्था भएकोले हो । जेनजी आन्दोलनपछि निर्वाचनको अघिल्लो दिनसम्म पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने एक प्रकारको अन्योल थियो । २१ गतेको निर्वाचनका लागि बिदा सुरु हुनुभन्दा अघि पनि यो अवस्था थियो ।
चुनावपछि पहिलो पटक बजार खुल्दा राजनीतिक अस्थिरताको त्यो सम्भावना अन्त्य भएको छ । अर्कोतिर यो निर्वाचनले एउटै सरकारको प्रस्ट बहुमतसहित पाँच वर्षको स्थिर सरकार दिने ग्यारेन्टी गरेको छ । २०६४ पछि कुनै पनि सरकारले यस्तो प्रस्ट बहुमत ल्याउन सकेको थिएन, जुन यस पटक आएको छ ।
योसँगै आउने सरकारले चाहे अनुसारका जुनसुकै कानुन संशोधन गर्ने क्षमता समेत राख्छ । स्थिर सरकार र कानुनी सुधार गर्ने सन्दर्भमा देखिएको सहज अवस्थालाई हेरेर बजार बढेको हो ।
यहाँ यसको प्रभाव पनि छ । नयाँ सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह आउने र अर्थमन्त्रीमा स्वर्णिम वाग्ले आउने भन्ने चर्चा चलेको छ । उहाँहरू दुवै जना कुनै न कुनै ठाउँमा सफल प्रमाणित भइसकेका व्यक्ति हो ।
बालेन शाह जस्तो योङ नेतृत्व जसले काठमाडौँ महानगरपालिकामा काम गरेर देखाइसक्नुभएको छ । उहाँको नाम र कामप्रतिको विश्वासले ठूलो प्रभाव पारेको छ ।
सँगसँगै, अर्थतन्त्रको साँचो डा. स्वर्णिम वाग्लेको हातमा जाँदै छ भन्ने कुराले बजारमा सुनमा सुगन्ध थपेको हो । उहाँ विश्व बैंकदेखि अन्तर्राष्ट्रिय जगतमा काम गरिसकेको, विश्व अर्थतन्त्रलाई नजिकबाट नियालेको व्यक्ति हुनुहुन्छ । त्यसैले स्थिरता र विज्ञता दुवै एकैठाउँमा मिसिएर बजारमा यो स्तरको उत्साह आएको हो ।
एक्काइसौँ शताब्दीमा आएर हामी परम्परागत समाजवाद र पुँजीवादको बहसमा मात्र अल्झिएर सम्भव छैन । नेपालमा राजनीतिक क्रान्ति भइसक्यो, अबको क्रान्ति भनेको आर्थिक क्रान्ति नै हो । यो सन्दर्भमा दुवैजनाको विचार एकै ठाउँमा छ ।
अहिलेको जुन जेनजी युवाहरूको माग छ, त्यसलाई समेट्न अर्थतन्त्रलाई सबल नबनाई सुखै छैन । आर्थिक उन्नतिविना कुनै पनि वाद टिक्दैन । बालेनको सामाजिक न्याय र स्वर्णिमको पुँजी निर्माणको नीति मिल्दा समग्र अर्थतन्त्र चलायमान हुन्छ । नयाँ पूर्वाधारका योजनाहरू बन्छन् ।
अर्थतन्त्र चलायमान हुने बित्तिकै पुँजी बजार त स्वतः चल्ने नै भइगयो । लगानीकर्ताले यही बुझेर बजारमा प्रतिक्रिया जनाएका हुन् ।
लामो समयदेखि पुँजी बजार अलमलिएर बसेको थियो । लगानीकर्ताहरू अन्योलमा थिए । अब बहुमत ल्याएर सरकार बनाउँदै गरेका साथीहरू आत्तिनु हुँदैन । उहाँहरूले संयमताका साथ आगामी ५ वर्षसम्मका लागि स्थिर नीति, नियम र कानुनहरू बनाइदिनुपर्छ ।
विगतमा रामेश्वर खनाल आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने, नयाँ स्टक एक्सचेन्जको संरचना तयार पार्ने, इन्ट्रा-डे कारोबार सुरु गर्ने जस्ता २१औँ शताब्दी सुहाउँदो प्रविधिमैत्री पुँजी बजार बनाउन उहाँहरूले अहम् भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पूर्ण आशा छ । पुँजी बजारले यही आशाका साथ आज फड्को मारेको हो ।
अर्थ चाैतारी ।