काठमाण्डौ। ‘पब्लिक लिमिटेड’ कम्पनीको पैसाबाट दीपक भट्टले आफ्नो व्यक्तिगत नाममा किनेको सेयर कारोबार रोक्का भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले भट्टको सेयर कारोबार रोक्का गरेको हो।
भट्टले हिमालयन रि-इन्स्योरेन्ससहित ५ कम्पनीबाट पैसा ल्याएर आफ्नो नाममा सेयर किनेका थिए। त्यसरी किनेको सेयर रोक्का गरिएको हो। विवादास्पद व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ। यसैक्रममा विभागले उनको र उनीसँग सम्बन्धित कम्पनीहरूको कारोबारमाथि निगरानी बढाएको छ।
पब्लिक कम्पनीको पैसामा रजाइँ
अनुसन्धानका क्रममा भट्टले हिमालयन रि-इन्स्योरेन्सबाट करिब २ अर्ब ७३ करोड, हिमालयन सेक्युरिटिज ब्रोकरबाट २२ करोड १० लाख, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड, एचएलआई लार्ज क्याप फण्डबाट २५ करोड १० लाख र नेपाल माइक्रोबाट १६ करोड १० लाख रुपैयाँ गरी कुल ३ अर्ब ८१ करोड भन्दा बढी रकम परिचालन गरेको देखिएको छ। यो रकम उनले भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत सेयर खरिदमा प्रयोग गरेका थिए।
सीआइबीको तयारी
यस प्रकरणमा भट्टका व्यावसायिक साझेदार (पार्टनर) हरूलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सोधपुछका लागि बोलाउने तयारी गरेको छ। पब्लिक कम्पनीको सर्वसाधारणको लगानीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नु वित्तीय अपराध र बैंकिङ कसुरसमेत आकर्षित हुने भएकाले सीआइबीले यसमा चासो देखाएको हो।
बजारमा तरङ्ग
वित्तीय अपराधमाथि सरकारी निकायहरूले सुरु गरेको यो कडा अनुसन्धानले सेयर बजारमा पनि तरङ्ग पैदा गरेको छ। विभागले नेपाल बीमा प्राधिकरणलाई पत्र लेख्दै हिमालयन रि-इन्स्योरेन्सको कारोबार र भट्टको संलग्नताबारे सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
अध्यागमन विभागले यसअघि नै भट्टलाई कालोसूचीमा राखिसकेको छ भने उनको राहदानीसमेत निलम्बनको प्रक्रियामा रहेको बुझिएको छ।
अर्थ चाैतारी ।