logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • क्रस बोर्डर टुरिजम कन्क्लेभ २०२६ : पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड

    क्रस बोर्डर टुरिजम कन्क्लेभ २०२६ : पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड

    416
    SHARES
    क्रस बोर्डर टुरिजम कन्क्लेभ २०२६ : पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार र गुणस्तरीय सेवामा जोड

    काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काँकडभिट्टाको संयुक्त आयोजनामा झापामा भएको “क्रस बोर्डर टुरिजम कन्क्लेभ झापा- २०२६” को तेस्रो संस्करणमा सीमा पार पर्यटनको प्रवर्द्धन, नीतिगत सुधार र नेपाल–भारत सहकार्यलाई थप सुदृढ बनाउन जोड दिइएको छ । शुक्रबार भएको कार्यक्रममा वक्ताहरूले पर्यटन विस्तारका लागि व्यवहारिक सुधार, पूर्वाधार विकास र संयुक्त बजार प्रवर्द्धनमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले सीमा पार पर्यटनले प्रदेशको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।



    उनले भने, “आजको यस सीमा पार पर्यटन कन्क्लेभमार्फत् कोशी प्रदेशलाई थप प्रवर्द्धन गर्न योगदान पुगेको छ । तर दुःखको कुरा के छ भने सरकारले कोशी भ्रमण वर्षका लागि छुट्टाएको बजेट समेत कार्यान्वयन गर्न सकेका छैनौँ ।”उनले झापालाई पर्यटन हबका रूपमा विकास गर्न सेवामा सुधार, आकर्षक प्याकेज र नीतिगत सुधार आवश्यक रहेको बताए । उनले भने, “हामीले पर्यटकलाई दुःख दिने, हैरानी गराउने र हेर्ने दृष्टिकोण बदल्न सकेमा पर्यटक आगमन सङ्ख्या बढाउन सकिन्छ,” उनले भने ।

    नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस कन्क्लेभको निरन्तरताले पर्यटन विकेन्द्रीकरणमा सहयोग पुगेको बताए । “तेस्रो संस्करणमा आइपुग्दा हामी उत्साहित छौँ । काठमाडौँ केन्द्रित पर्यटनलाई बाहिर ल्याउन हामीले यस्तो कार्यक्रम गरिरहेका छौँ,” उनले भने । बोर्डका निमित्त निर्देशक शर्माले सीमा पार पर्यटनलाई राष्ट्रिय योजना आयोगका योजनामा समावेश गर्न पहल गरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

    अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले नाकामा सहजीकरणको लागि अध्यागमन कार्यालय सधैँ तयार रहेको जानकारी गराएका छन् । “हामीले भारतको अध्यागमन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिइरहेका छौँ,” उनले भने । उनका अनुसार फागुन महिनामा मात्र १ हजार ५ विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छन् । “साउनदेखि फागुनसम्म ६ हजार ७९१ विदेशी पाहुना भित्रिएका छन्, र यो वर्ष ९ हजार पुग्ने अपेक्षा हामीले गरेका छौँ,” उनले भने । भट्टराईले भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका लागि विदेशी पर्यटक पठाउनसमेत आग्रह गरेका छन् ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सीमा पार पर्यटनलाई सरोकारवाला निकायले ढिलो बुझेको उल्लेख गर्दै सहकार्यको महत्त्वमा जोड दिए । “सीमा पार पर्यटनलाई हामीले ढिलो बुझ्यौँ, त्यसैले आज हामी अझै सीमा पार पर्यटनका आयामबारे सिकिरहेका छौँ । सहकार्य र समन्वयबिना पर्यटन विकास सम्भव छैन,” उनले भने । उनले भारतीय पर्यटक नेपालको प्रमुख स्रोत बजार भएको उल्लेख गर्दै थपे, “नेपालमा भारतीय पर्यटन ३० लाखभन्दा बढी आउँछ, तर खुला सिमानाका कारण यसको औपचारिक तथ्याङ्क छैन ।” थपलियाले सीमा पार पर्यटन विकासका लागि हाम्रो व्यवहार पर्यटनमैत्री हुनुपर्ने पनि बताएका छन् । थपलियाले कोशी प्रदेशसहित काठमाडौँ बाहिरका गन्तव्यहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

    हिमालय हस्पिटालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन) का महासचिव सम्राट् सन्ज्यालले नेपाल–भारत संयुक्त रूपमा पर्यटन उत्पादन विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले भने, “पछिल्लो १० वर्षको पर्यटन गतिविधि हेर्दा नेपाल र भारतलाई संयुक्त रुपमा अन्तर्राष्ट्रिय मञ्‍चहरुमा प्रवर्द्धन गरिएको देखिँदैन । तर, सीमा पार पर्यटन कन्क्लेभ मात्रै एउटा यस्तो प्लेटफर्म हो, जहाँ नेपाल र भारतलाई संयुक्त रुपमा प्रवर्द्धन गरिएको छ ।”

    उनले सीमामा आवागमनलाई थप सहज बनाउन र नीतिगत अवरोध हटाउन दुवै देशले सहकार्य गर्नुपर्ने बताए । “यो समय भनेको एकताको समय हो र यसका लागि हामीले सँगसँगै दुवै देशका नीति निर्मातालाई दुवै देशको पर्यटन प्रवर्द्धनात्मक नीति निर्माणका लागि दबाब सिर्जना गर्नुपर्छ,” उनले थपे ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ (कोशी प्रदेश) का अध्यक्ष ऋषिराज तिमिल्सिनाले सीमा पार पर्यटन कन्क्लेभले क्षेत्रीय पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताए । “विगत तीन वर्षदेखि आयोजना भइरहेको यो कन्क्लेभले पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ,” उनले भने । उनले पर्यटकको बसाइ लम्ब्याउन नयाँ प्याकेज आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रको लगानी बढ्दै गएको समेत जानकारी गराए ।

    कार्यक्रममा बिहार, सिक्किम र पश्चिम बङ्गाल (भारत) र कोशी प्रदेश (नेपाल) का पर्यटन सम्भावनाबारे भिडियो प्रस्तुतीकरण गरिएको थियो । यसका साथै “सीमा पार पर्यटनः अवसर र चुनौती” शीर्षकमा आयोजित अन्तर्क्रियामा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, एचएचटीडीएनका महासचिव सम्राट् सन्ज्याल तथा पर्यटन व्यवसायी केसरी गुरुङलगायत विज्ञहरूले सीमा पार पर्यटनका संरचनागत, नीतिगत र पूर्वाधारगत पक्षमा छलफल गरेका थिए ।

    छलफलका क्रममा निर्माणाधीन एसियन हाइवे नेटवर्कलाई क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्ने ‘गेमचेन्जर’ पूर्वाधारका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी उपयोगले नेपाल–भारत पर्यटन प्रवाहमा गुणात्मक वृद्धि ल्याउने विश्वास व्यक्त गरिएको छ ।

    अन्तर्क्रियामा वक्ताहरूले सीमा पार आवागमनलाई सहज बनाउन कर तथा शुल्क तिर्ने प्रक्रियालाई एकद्वार प्रणालीमार्फत सरलीकरण गर्नुपर्ने, सीमामा हुने विभिन्न जाँच प्रक्रिया व्यवस्थित गर्नुपर्ने तथा सेवा प्रवाहमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिए । साथै, नेपालको सडक सञ्जाल विस्तार, गुणस्तरीय पूर्वाधार विकास, डिजिटल प्रणालीको प्रयोग र पर्यटकमैत्री व्यवहार सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिएको थियो ।

    कन्क्लेभका क्रममा पर्यटन सञ्जाल झापा र भारतको एचएचटीडीएन बिच दुवै देशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन तथा दिगो पर्यटन विकासका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको छ । उक्त समझदारीपत्र मार्फत् क्षेत्रीय पर्यटन प्रवर्द्धन, सीमा पार पर्यटन विस्तार, अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन तथा नीतिगत सुधारका लागि आ–आफ्नो मुलुकमा पहल गर्ने सहमति भएको छ ।

    कार्यक्रममा भारतबाट ६० पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । यसका साथै कार्यक्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनीसमेत गरिएको थियो ।​


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट