काठमाण्डौ । नेपाल सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रमा गिरावट देखिएको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष कृषिको उत्पादन र वृद्धिदरमा गिरावट आएको सर्वेक्षणमा देखिएको छ ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको आर्थिक वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४।० प्रतिशत रहने सर्वेक्षणले औँल्याएको छ । राष्ट्रिय कृषि गणना २०७८ लाई आधार मान्दा नेपालका कुल घरधुरीमध्ये ६२ प्रतिशत घरधुरी अझै पनि कृषि कार्यमा संलग्न रहेका छन् ।
सरकारले सिँचाइ सुविधा विस्तारमा जोड दिए पनि अझै ठुलो हिस्सा बाँझो रहेको सर्वेक्षणले देखाएको । २०८२ फागुनसम्म कुल कृषि योग्य जमिनको ४४.६ प्रतिशत भागमा मात्र सिँचाइ पुगेको छ। यद्यपि, सिँचाइ योग्य भनिएको जमिनमध्ये ६२.६ प्रतिशतमा भने सुविधा पुगेको तथ्याङ्क छ।
पशुपालन र दूध–अण्डामा आत्मनिर्भर
बाली उत्पादनमा केही उतारचढाव आए पनि पशुपन्छी क्षेत्रमा भने प्रगति देखिएको छ । सर्वेक्षणअनुसार प्रति व्यक्ति दूधको उपलब्धता ९३ लिटर र अण्डाको उपलब्धता ५६ गोटा पुगेको छ । दूध, मासु र अण्डाको उत्पादनमा भएको वृद्धिले पोषण सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।
अर्थ चाैतारी ।